Online Bichar
बुधबार, बैशाख १९, २०८१ | Wednesday, May 1, 2024

झापा, ९ चैत २०७९ । देशभर कोरोना भाइरस संक्रमितको संख्या आज एक्कासी बढेको छ । मंगलबार र बुधबार सम्म शून्यमा झरेको सङ्क्रमण आज एकै दिन १७ जनामा देखिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज १ हजार ४ सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ । चैत ७ र चैत ८ गते भने शून्य सङ्क्रमित रहेका थिए । यससँगै सक्रिय सङ्क्रमित पनि बढेको पाइएको छ । आज ३० जना सक्रिय सङ्क्रमित रहेका छन् ।१ जना डिस्चार्ज भएका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भारतमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले त्यसको प्रभाव नेपालमा परेको बताउनुभयो ।

“भारतमा सङ्क्रमण बढिरहेको छ । भारतबाट सङ्क्रमित नेपाल आइरहेका छन्”, उहाँले भन्नुभयो, “हिजोमात्र सीमानाकाबाट सात सङ्क्रमित नेपाल आएका छन् ।” उहाँले खुला सीमाबाट सङ्क्रमित नेपाल आइरहेकाले सीमानाकामा परीक्षणलाई कडाइ गरिएको बताउनुभयो । उहाँले जनस्वास्थ्यका मापदण्ड र अतिरिक्त खोप लगाउन आग्रह गर्नुभयो ।

मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ । अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ ।

तपाईको प्रतिक्रिया