Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

धनगढी, ३ माघ २०७९ । सुदूरपश्चिम प्रदेशको उपसभामुखमा सत्तारुढ गठबन्धनकी कोइलीदेवी चौधरी निर्वाचित भएकी छन् । कैलालीबाट समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य भएकी एमालेकी चौधरी मंगलबार भएको मत विभाजनबाट उपसभामुखमा चयन भएकी हुन् ।

माओवादीकी लक्ष्मी बिकले चौधरीलाई उपसभामुखमा निर्वाचित गरियोस् भनेर प्रदेशसभामा पेश गरेको प्रस्तावको पक्षमा २८ मत परेसँगै उनी चयन भएकी हुन् । प्रस्तावको विपक्षमा २३ मत मात्रै खसेको थियो । चौधरीलाई नेकपा एमालेका १०, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ जना प्रदेशसभा सदस्यले मतदान गरेका हुन् ।

यसअघि कांग्रेसको समर्थन प्राप्त गर्दै उपसभामुखमा उम्मेदवारी दिएकी नेकपा (एकीकृत समाजवादी) पार्टीकी प्रदेशसभा सदस्य माया पन्तलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव भने बहुमतले अस्वीकृत भएको थियो । पन्तको पक्षमा २४ र विपक्षमा २८ मत खसेको थियो । पन्तलाई नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी) का ४ र स्वतन्त्र सांसद डा।ताराप्रसाद जोशीले मतदान गरेका हुन् ।

उनी एकीकृत समाजवादीकी कञ्चनपुरबाट निर्वाचित समानुपातिक प्रदेशसभा सदस्य हुन् । मंगलबार बिहान बसेको प्रदेशसभाको बैठकले सभामुखमा माओवादी केन्द्रका भीमबहादुर भण्डारीलाई निर्वाचित गरेको थियो ।

 

तपाईको प्रतिक्रिया