Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026

रातीपोखरी, ३ मंसिर । गुल्मीका ७१ वर्षे रविराज अर्याल । उनले कफी खेती गर्दै आएको झन्डै डेढ दशक भयो। तस्बिरः गिरीश गिरीरसेतोपाटी
रातीपोखरी, गुल्मीका ७१ वर्षे रविराज अर्याल। उनले कफी खेती गर्दै आएको झन्डै डेढ दशक भयो ।

गुल्मी, मुलुकमै सबभन्दा पहिले व्यावसायिक कफी खेती गरिएको ठाउँ। उत्पादनमा समेत अग्रणी। यहाँका साना किसान भने कफी खेती विस्तारै जटिल हुँदै गएको बताउन थालेका छन्।

अग्र्यानिक तवरबाट उत्पादन हुने स्वादिलो कफी नै गुल्मीले विदेशी पारखीमाझ कमाएको ‘ब्राण्ड’ नाम हो।

हाल गण्डकी प्रदेशबाट वार्षिक दुई सय मेट्रिक टन कफी उत्पादन हुँदै आएको छ। त्यसमा सर्वाधिक योगदान गुल्मीको छ।

अस्सी वर्षअघि बर्माबाट बोट ल्याएर हीरा गिरीले यो जिल्लामा पहिलोपटक कफी खेती गरेको इतिहास छ। त्यसपछि २०४२ सालताक कफी विकास केन्द्र स्थापनासँगै यहाँबाटै व्यावसायिक कफी उत्पादन प्रयास सुरु भयो। यसमा तत्कालीन राजा वीरेन्द्रले विशेष चासो देखाएको स्थानीय सुनाउँछन्। त्यो प्रयासलाई पछिल्लो समय पनि निरन्तरता दिने काम भइरहेकै छन्। बलेटक्सारमा कफी अनुसन्धान केन्द्र पनि छ।

जिल्लाको आँपचौरमा कफीको मुख्य खेती हुन्छ। यसको विकास तथा विस्तारमा भने गाउँगाउँमा फैलिएका साना किसानको पनि महत्वपूर्ण हात छ।

तर, यस्ता साना किसानहरू विस्तारै कफी खेती धान्न मुश्किल पर्दै गएको सुनाउन थालेका छन्।

तिनैमध्ये एक हुन् रातीपोखरीका ७१ वर्षे रविराज अर्याल।

मकै र कोदो फलाउँदै आएको जग्गामा झन्डै डेढ दसकअघि अर्यालका छोराले सयवटा कफीका बेर्ना ल्याएर रोपेका थिए।

‘सुरुका वर्ष त यस्तरी फले,’ अर्याल भन्छन्, ‘कफी खेतीले अब दिन फेर्छ भने झैं भएको थियो।’

उनका अनुसार त्यतिखेर एउटै बुटाबाट बर्सेनी दसदेखि बाह्र किलोसम्म कफी फलेको थियो। रासायनिक मलखाद र विषादी नहालिएको माटोमा यसरी जैविक तरिकाबाट गरिएको कफी खेतीले प्रोत्साहन पनि पायो।

‘यहाँका कफी त सबै विदेशै पुग्छ भनेर सुनेको छु,’ अर्यालले थपे, ‘औषधि नहालेकै भएर विदेशीले असाध्यै मनपराउने भनेर चर्चा गर्छन्।’

मुलुकका अधिकांश भाग यातायातले जोडिँदासम्म गुल्मीमा भने पछिसम्म व्यवस्थित सडक थिएन। अहिले पनि जिल्लाभरको करिब १३ सय किलोमिटर सडकमा ४४ किलोमिटर मात्र कालोपत्रे हुनसकेको तथ्यांकले देखाउँछ। सदरमुकाम तम्घासलाई तानसेनसँग जोड्ने त्यही पक्की सडकको पनि रिडी–तम्घास खण्डमा वर्षाका बेला अवरुद्ध भएको समाचार आइरहेकै हुन्छन्।

धुर्कोट, पुर्कोट, इस्माकोट जस्ता थुम्कामा बाइसे–चौबिसे राजाहरूको शासन चलेको यो जिल्लाको नाम पनि सामरिक हिसाबले गुल्मुबाट गुल्मी बनेको स्थानीय सुनाउँछन्।

यस्तो ठाउँमा कफी खेतीले आफूजस्ता साना किसानको जीवन फेर्ने सपना अर्यालले एक दसकअघि देखेका थिए।

उनले घर छेउको बाह्र रोपनी जग्गामा मकै र कोदो रोप्न छाडे। धमाधम कफीका बेर्ना लगाए।

‘वैदेशिक रोजगारीको लहरले काम गर्ने मान्छे भेटिन छाडेपछि तल पाखोको धानखेत बेचेँ,’ अर्याल भन्छन्, ‘त्यसपछि बचेको बारीमा कफी र फलफूल रोप्न थाल्यौं।’

उनका अनुसार पहिले गाउँमा काम गर्ने तन्नेरीहरू मनग्गे हुन्थे। मेला गर्न आउनेको कमी हुन्थेन। खुवाएर थोरै ज्याला दिँदा खुसीसाथ फर्कन्थे।

हिजोआज त्यस्ता तन्नेरीहरू सबै विदेशिएका छन्।

आफ्नो गाउँमा यतिबेला वैदेशिक रोजगारीमा नगएको घर फेला पार्नै मुश्किल रहेको उनी सुनाउँछन्। विदेशबाट कमाएर पठाएको पैसा पनि गाउँमा नरहेर बाहिरै जान्छ। यसकारण गाउँको चित्र विस्तारै धमिलो हुँदै गएको उनको अनुभव छ।

‘खेती किसानीले अब जीविकोपार्जन कठिन हुन थाल्यो,’ अर्याल भन्छन्, ‘छोराको नोकरीले घर धान्ने काम गरेको छ। घर छेउका बारी र वस्तुभाउ अब शोखमा सीमित हुँदै गएको छ।’

यसरी सुरुसुरुमा राम्रो फाइदा देखिएको कफी खेती अब जटिल हुँदै गएको छ।

‘पछिल्लो समय यो सेतो गबारो नामको किराले असाध्यै सताएको छ,’ उनले भने, ‘किराले भित्रभित्रै खाइदिने भएकोले जैविक तरिकाबाट यसको उपचार पनि सम्भव देखिएको छैन।’

अर्यालका अनुसार किराको प्रकोप दिनप्रतिदिन बढ्दै छ।

‘सिजन नहुँदै चाँडै फल पाक्यो भने किरो लाग्यो भनेर जाने हुन्छ,’ उनी भन्छन्, ‘त्यसपछि पात पनि झर्दै जान्छन्।’

यसरी किरा लागेको चाल पाउनेबित्तिकै त्यस्ता बोटलाई तत्काल उखेलेर नजलाउने हो भने त्यसले अरु बोटलाई पनि प्रभावित पारिदिन सक्छ। यो रोगले असाध्यै सताएर किसानहरू कफी खेतीबाटै बिमुख हुँदै गएका छन्। तर पनि सरकारी निकायले अहिलेसम्म भरपर्दो उपचारको खोजी गरेर किसानलाई बताउन नसकेको अर्यालले सुनाए।

‘करिब १५ वर्षअघि अर्घाखाँचीबाट आएकी एक प्राविधिकले हाम्रो समस्या सुन्ने बित्तिकै सिँचाइ निम्ति प्लास्टिकको पोखरी बन्दोबस्त गरिदिएकी थिइन्,’ उनले अनुभव सुनाए, ‘तर, हिजोआजका प्राविधिकहरू घुम्न मात्रै आउँछन्।’

कफीबाहेक अन्य बोटका निम्ति तुथो र कृषि चुना मुछेर प्रयोग गर्दा पनि किरा नियन्त्रण हुने गरेको छ। कफीमा भने भित्रैभित्र सेतो गँवारो पसेर सखाप पारिदिने भएकाले त्यो सम्भव नभएको उनी गुनासो गर्छन्।

‘बोटको बाहिरबाट जाने किरालाई त रोक्न सकिन्थ्यो,’ उनी थप्छन्, ‘भित्रभित्रै जाने किरालाई नियन्त्रण गर्न गाह्रो भइरहेको छ।’

जहाँसम्म प्रभावकारी रासायनिक विषादीको कुरा छ त्यो कफीमा मात्र नभएर छेउछाउका सुन्तला लगायतका बोटमा पनि हाल्न नमिल्ने उनी सुनाउँछन्।

‘औषधिको हल्का निशान देखियो भने पनि विदेशमा कफी क्यान्सिल हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले अग्र्यानिक कफीकै निम्ति भनेर अन्य बालीमा पनि विषादी हाल्न पाएका छैनौं।’

यस्तो अवस्थामा कफी राम्ररी उत्पादन हुन छाडेपछि परारदेखि कागती खेती सुरु गरेको अर्यालले बताए।

‘पहिलेदेखिका र थपेका कफी मासेका छैनौं,’ उनले भने, ‘तर, अब कागती खेती विस्तार गर्दा बढी फाइदा होला भन्ने सोच्न थालेका छौं।’

आफूले बेर्ना ल्याएका र मुसा चराले खाएर खसाल्दा उम्रिएका कफी करिब तीन रोपनीमा अहिले पनि खेती गरिरहेको उनले सुनाए। त्यसरी आफैं निस्केको बोटमा चाहिँ कफी अलि ढिलो र कम फल्ने उनको अनुभव छ।

उनका अनुसार गाउँकै सहकारीमा कफी बेच्दा किलोको एक सय बीस रुपैयाँ पाइन्छ। तम्घासमा बेच्दा किलोको डेढ सयदेखि एक सय साठीसम्म। आफूजस्ता साना किसानले थोरैतिनो उत्पादन गाउँकै सहकारीलाई बुझाउने गरेको अर्यालले बताए।

साना कफी किसानले अहिले झेल्नुपरेको अर्को समस्या भनेको गतिलो बेर्ना अभाव पनि हो।

अर्यालका अनुसार हिजोआज बेर्ना जमाउनेहरूले बेच्ने बेला भएपछि दुई(चार थोपा युरिया राखिदिन थालेका छन्। त्यसले गर्दा बिरुवा चिल्लो र सर्लक्क परेको देखिन्छ।

‘तर, युरियाको प्रभाव जम्मा २८ दिनलाई हो,’ उनी भन्छन्, ‘त्यसपछि त्यस्ता बेर्ना मरिहाल्ने गरेको छ।’

बेर्ना बेच्नेहरूले मुखले नभने पनि किसानी गर्दै आएको आफूहरूले यो रहस्य बुझेको उनको दाबी छ। सरकारकै अनुदानमा पनि किसानलाई निशुल्क बेर्ना वितरण गरिँदै आएको जानकारी पनि अर्यालले दिए।

‘अनुदानमा भए पनि जे मा भए पनि, जाग्दै नजाग्ने बेर्ना के काम?’ उनले प्रश्न गर्दै थपे, ‘मैले परार डेढ सयवटा बेर्ना ल्याएर लगाएको एउटा पनि सप्रेन।’

अर्यालका अनुसार पोहोर पनि कुनै बेर्ना सप्रेनन्।

‘चाँडो पैसा कमाउँ भन्ने लालच नराम्रो कुरा हो,’ उनी भन्छन्, ‘पैसाको लालचले गर्दा यताको कफी खेती बिग्रन थालेको छ।’

बारीमा कफी, कागती र सुन्तलाका बोटमध्ये सुन्तलाले सबभन्दा बढी फाइदा गराउने उनको भनाइ छ। उनको बारीमा झन्डै डेढ सयवटा लटरम्मै फलेका सुन्तलाका बोट देखिन्छन्।

‘तर, यी फल पाहुना आएकालाई खुवाउनै पर्ने र गाउँघरमा पनि बाँड्नुपर्ने भएकाले थोरै मात्र नगद हात लाग्छ,’ उनले सुनाए, ‘जबकि यहाँ उत्पादन हुने कफी यताका गाउँले कसैले प्रयोग गर्दैनन्। फलेका जति सबैको पैसा पाउँछौं।’

यसरी सुन्तला मनग्ये फल्ने बारी भए पनि हातमा पैसा चाहिँ अहिले पनि कफीले नै बढी दिँदै आएको अर्यालले सुनाए। पछिल्लो समय आधा अनुदान र आधा पैसा तिरेर ल्याउने गरेको कागतीको बेर्ना भने सबैजसो सप्रिएका छन्।

‘रोपेको चार वर्षमा यसपालादेखि अलिअलि कागती फल्न थालेको छ,’ उनले भने, ‘बजार बुझ्न कागतीका रस र दाना बुटवलसम्म पठाएको छु।’

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा हाल छदेखि सात सय मेट्रिक टन कफी खपत हुन्छ। यसमा पाँच सय मेट्रिक टन मात्र आन्तरिक उत्पादन हुने गरेको छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments