काठमाडौं, २० मंसिर । महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतीय पक्षले पक्की संरचना बनाइरहेको विषयमा सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ।
भारतले पछिल्लो समय दार्चुला सदरमुकाम खलंगाबाट धारचुला जोड्ने पुलमुनि तटबन्धसहितको सडक निर्माण गरिरहेको छ। त्यसको विरोधमा स्थानीयले आइतबार पुल अवरुद्ध गरेर निर्माण रोक्न माग गर्दा भारतीय पक्षबाट ढुंगा प्रहार भएको थियो।
ढुंगा लागेर स्कुलमा खेलिरहेका बालकसहित ४ जना घाइते भएका थिए। नेपालीमाथि ढुंगा प्रहार र नदी अतिक्रमणबारे जिल्ला प्रशासन कार्यालय दार्चुलाले गृह मन्त्रालयलाई आइतबारै मौखिक र सोमबार लिखित जानकारी गराएको थियो।
लगत्तै गृह मन्त्रालयले दार्चुलामा त्यस्ता घटना दोहोरिन नदिन, भारतलाई एकतर्फी संरचना बनाउन नदिन र बनाउनै परे दुवै देशका प्राविधिक टोलीबाट अध्ययन गरेर एवं सहमति कायम गर्नका लागि स्थायी समाधान खोज्न आग्रह गर्दै परराष्ट्रलाई पत्र पठायो।
गृहले कूटनीतिक रूपमा पहल गरी समस्याको दीर्घकालीन समाधान खोज्न भनेपछि मात्र परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत आज कूटनीतिक नोट पठाइएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिएकी छन्।






