Online Bichar
बुधबार, आषाढ १०, २०८३ | Wednesday, June 24, 2026

दमक, १५ कत्तिक  । गौरादह दहलुका एक दर्जन बढी किसानको खेतमा यसपालि धान फलेन । ४० बिघाभन्दा बढी जमिनमा लगाइएको धान खेतमा किराले क्षति पुर्‍याएको छ ।
झापा गौरादह नगरपालिकाकाको धान खेतमा किराले क्षति पुर्‍याएकोबारे जानकारी दिँदै पीडित किसान ।

धानको फल लाग्ने बेला किरा लागेको थियो । किराले धानको बोट पूरै सुकेको छ ।

फूल फुल्ने बेला किराले आक्रमण गरेकाले धानको बालामा भुस मात्र देखिन्छ ।
किसानले भारतीय बीउ ‘रञ्जित’ र ‘स्वर्णा’ जातको धान लगाएका छन् । दुवै जातको धानमा किरा लागेको हो । नगरपालिकाका कृषि शाखा प्रमुख प्रदीप श्रेष्ठले धानमा ‘फडे’ किरा लागेको बताए ।

उनले रञ्जित र स्वर्णा जातको धान लगाएका नगरभित्रका अधिकांश किसानको खेतमा किरा लागेको बताए । ‘यसपालि खेती गरेको लगानी पनि नउठ्ने भयो,’ किराबाट पीडित किसान सेतप्रकाश गिरीले भने, ‘किराले धान नष्ट गरिदिएको छ ।

केही ठाउँमा परालसमेत काम नलाग्ने गरी नष्ट भएको छ ।’ उनले धानमा लागेको रोग स्पष्ट रूपमा पहिचान गर्न नसक्दा क्षति बढी भएको बताए ।

किसान कृष्णबहादुर खडकाले समयमै प्राविधिकबाट उचित सल्लाह नपाउँदा किरा नियन्त्रण गर्न कठिन भएको बताए । उनले भने, ‘किरा लागेलगत्तै प्राविधिकले राम्ररी हेरेर आवश्यक औषधि लगाउन भनेको भए यति धेरै क्षति हुने थिएन । नगरपालिकाका कृषि प्राविधिकलाई जानकारी त गराएका थियौं । कोही प्राविधिक हाम्रो धान खेतमा आएनन् ।’ उनले आफूले जानेसम्मका औषधि लगाएको बताए । उनले ३–४ पटकसम्म छुट्टाछुट्टै औषधि लगाएको बताए ।

स्थानीय बजारबाट खरिद गरेर किरा मर्ने औषधि चार पटकसम्म लगाएको टंक गिरीले बताए । उनले औषधि लगाएपछि धानको बोट पूरै सुकेर जानबाट रोके पनि धान भने पोहोरजस्तो नफलेको बताए ।

‘धानको बाटो देखिन्छ तर जति बाला लाग्नुपर्ने थियो त्यति छैन,’ गिरीले भने, ‘किराका कारण यसपालि पोहोरको आधा पनि धान होलाजस्तो छैन ।’ उनले गत वर्ष स्थानीय किसानले प्रतिबिघा ८० मनका दरले धान फलाएका थिए । ‘यसपालि धान रोपेको लगानी पनि उठाउन कठिन छ,’ रीता खडकाले भनिन्, ‘आधा जति किराले खाएको छ । बाँकीमा पनि पोहोरजस्तो धान फलेको छैन ।’ किराका कारण यसपालि प्रतिबिघा ४० मन धान पनि नफलेको उनले बताइन् ।

‘सिँचाइको सुविधा छैन । खेतमा काम गर्ने मजदुर पाइँदैन । सबै कुरामा चर्को खर्च गरेर धान लगायौं । तर, अहिले धान भित्र्याउने बेलामा किराले सबै नष्ट गरेको देख्दा सबै किसान निराश भएका छौं,’ ज्ञानबहादुर खडकाले भने, ‘हामी किसानको यो क्षति निकै ठूलो क्षति हो । यसप्रति स्थानीय सरकार गम्भीर हुनुपर्छ ।’

उनले आफूहरू समस्यामा परे पनि नगरपालिकाबाट अहिलेसम्म कोही पनि बुझ्न नआएकोमा दुस्ख व्यक्त गरे । कृषि शाखा प्रमुख श्रेष्ठले धानमा किरा लागेको नगरका सबै वडाबाट खबर आएको बताए ।

उनले भने, ‘विशेषगरी रञ्जित र स्वर्णा जातको धानमा किरा लागेको पायौं । हामी अर्को वर्षदेखि यो जातको धान नरोप्न किसानलाई अनुरोध गर्ने सोचमा छौं ।’ उनले नगरपालिकाले किसानलाई क्षतिपूर्तिबापत कुनै बजेटको व्यवस्था नगरेकाले किराले क्षति पुगेका किसानको गुनासो सम्बोधन गर्न गाह्रो भएको बताए ।

कान्तिपुर बाट

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments