गौरादह, १८ वैशाख २०७८ । झापाको गौरादहमा थप १ जना महिलामा कोरोना संक्रमण पुष्टी भएको छ । गौरादह नगरपालिका-३ कि ६२ वर्षिया महिलामा संक्रमण पुष्टी भएको हो । कोरोना संक्रमणको आशंकामा मेची पीसीआर ल्याब कोटीहोममा स्वाब परीक्षण गर्दा ति महिलामा शनिबार(आज)संक्रमण देखिएको गौरादह नगर स्वास्थ्य शाखाले जनाएको छ ।
यस्तै, गौरादह नगरपालिका कै स्थानीयबासी रहनु भएकी ४५ वर्षिया एक महिलामा संक्रमण पुष्टी भएको गौरादह नगर स्वास्थ्य शाखाका सह-संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो । संक्रमित महिलाको काठ्माडौं सिभिल हस्पिटलमा पीसीआर परीक्षण गर्दा यहि वैशाख १० गते रिपोर्ट पोजेटिभ आएको जानकारी भर्खरै प्राप्त भएको सह-संयोजक श्रेष्ठले बताउनुभयो ।
यो सँगै २०७७ फागुन देखि आज सम्मको कुल नयाँ संक्रमितको संख्या ६ महिला र ६ पुरुष गरि १२ जना रहेको जनाइएको छ । यस्तै, आजसम्म कोरोना संक्रमित भई २ जना पुरुष डिस्चार्ज भएका छन् । ५ महिला र ५ पुरुष गरि १० जना सक्रिय संक्रमित रहेका छन् । जस अन्तर्गत ४ महिला र ५ पुरुष गरी ९ जना होम आइसोलेसनमा रहेका छन् भने, १ जना सक्रिय संक्रमित महिला उपचार कै क्रममा सिभिल हस्पिटलको आइसोलेसनमा रहनु भएको छ । कोभिड-१९ का कारण गौरादहमा आज कसैको मृत्यु नभएको जनाइएको छ ।






