Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

काठमाडौं, ९ कात्तिक । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या काण्डपछि निलम्बनमा परेका प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्टलाई बर्खास्त गरिएको छ।

प्रहरी प्रधान कार्यालयको पत्र अनुसार गृहमन्त्रालयले बिहीबार विष्टसहित प्रहरी निरीक्षक जगदिशप्रसाद भट्टलाई बर्खास्त गरेको हो। विष्ट तत्कालीन प्रहरी प्रमुख हुन् भने भट्ट वडा प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुरका प्रमुख हुन्। गृहमन्त्रालयले उनीहरुलाई प्रहरी नियमावली २०७१ बमोजित सेवाबाट बर्खास्त गरेको हो।
गृहमन्त्रालयले विष्ट र भट्टराई बर्खास्त गर्नुको कारणसमेत दुई पेज लामो विज्ञप्तिमा दिएको छ।

विष्ट र भट्ट बर्खास्त गर्नुका १४ कारण
– निर्मलाको बलात्कारपछि हत्या काण्डको प्रारम्भिक अनुसन्धानमा चरम लापरबाही गरेको,
– पीडितका आफन्त र सरोकारवालाबाट प्राप्त गुनासोको उचित सम्बोधन गर्न नसकेको,
– प्रमाण लोप गरेको,
– घटनामा सम्बन्धित जिल्ला प्रमुखले सन्दिग्ध भूमिका खेलेको,
– स्थलगत अध्ययन गर्दा चरम लापरबाही गरेको,
– गैर व्यवसायिक र गैर जिम्मेवारीपूर्ण व्यवहार गरेको,
– अनुसन्धानका सामान्य कानुनी व्यवस्था समेत पालन नगरेको,
– तत्काल प्रहरीबाट अनिवार्य रुपमा गर्नुपर्ने खोजतलास तथा अनुसन्धानमा लापरबाही गरेको,
– बलत्कार र हत्या घटनासँग सम्बन्धित प्रमाण लाग्न सक्ने वस्तु र भित्री वस्त्र पानीमा चोपलेको,
– गुप्ताङग र तिघ्रा पखालेको,
– तत्काल नेपालमै नरहेका मृतकका बाबुको दस्तखत गराइएको,
– मृतकको शव अन्त्यष्टी गर्न पीडित परिवारलाई अनावश्यक प्रभाव, दबाब र धम्की दिएको,
– सुरक्षा कारबाहीका सिलसिलामा “Gradual Response and use of minimum force”-कम बल प्रयोग गर्ने सिद्धान्त नअपनाएको)
– प्रहरीको व्यवहार र कार्यशैलीका कारण आम नागरिक तथा पीडित परिवारका सदस्य विश्वस्त हुन नसकेको।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments