Online Bichar
सोमबार, आषाढ २२, २०८३ | Monday, July 6, 2026

अनीश तिवारी, सिन्धुपाल्चोक

सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिकामा ‘ब्रान्डेड’ नाम कमाएको मुडेको आलु बेच्नका लागि लैजान राखिएको बोरा । तस्बिर स् अनीशरकान्तिपुर
मंसिर २५, २०७४(मुडेको नाममा ‘ब्रान्डिङ’ गरिएको रोजिटा जातको आलुको उत्पादन गत वर्षभन्दा दोब्बर भएको छ । समयमै वर्षा र आलु खेती गर्ने बढेपछि झन्डै २० लाख किलो आलु उत्पादन भएको यहाँका कृषकले बताएका छन् ।

‘गत वर्षको तुलनामा यसपालि आलु उत्पादन दोब्बर बढेको छ,’ आलु संंकलक मकरबहादुर तामाङले भने, ‘जुटको बोरा र प्लास्टिकको झोलामा ३०, १० र ५ केजी गरेर २० लाख किलो आलु राजधानी पुगिसकेको छ ।’ उनले स्थानीय उत्पादनले ‘ब्रान्ड’ पाएपछि तीन वर्षदेखि आलु राजधानीमा निर्यात गरिरहेको सुनाए ।
जिल्लाको सिलढुंगा जेठलमा उत्पादित आलु दोलखा, रामेछाप, सिन्धुलीमा समेत खपत भइरहेको छ । तीन वर्षअघि पहिलोपटक स्थानीय उत्पादनलाई ‘ब्रान्ड’ दिइएको मुडेको अर्गा्निक आलु जिल्लाभर लोकप्रिय छ । मुडेमा उत्पादन भएको आलुलाई साना कृषि सहकारी संस्थाले राजधानीको कालीमाटीदेखि विभिन्न स्थानका फालफूल तथा तरकारी संकलन केन्द्रमा पुर्‍याउने काम गरिरहेको छ । ‘राजधानीमा ४० देखि ६० रुपैयाँमा बिक्री गरेका छौं,’ सहकारीका अध्यक्ष रहेका तामाङले भने, ‘जिल्लाका व्यापारीले यहाँको आलुलाई प्रतिकिलो ६० रुपैयाँसम्म दिएर लान्छन् ।’
यहाँ उत्पादित आलु जेठलको सिलढुंगामा संकलन गरेर प्याकिङ र टयागिङ सकेर मात्रै राजधानी ढुवानी गर्ने गरिन्छ । दुर्लभ मानिने रोजिटा जातको आलु लामोसाँघु जिरी सडकखण्ड निर्माण क्रममा स्विस सरकारले बाँडेपछि खेती सुरु भएको स्थानीय बताउँछन् ।
जिल्लाका विभिन्न स्थानमा पनि मुडेको आलुको माग उच्च हुँदै गएको छ । राजधानीबाहेक नै बाह्रबिसे, लामोसाँघु ,खाडीचौरदेखि दोलालघाटमा राम्रो मूल्यमा मुडेको आलु बिक्ने गरेको छ । ‘आलु बेचेरै वर्षको २ लाखसम्म आम्दानी गर्ने गरेको छु,’ मुडेका स्थानीय कृषक खडगबहादुर श्रेष्ठले उत्साहित हुँदै भने, ‘पाँच हजार धार्नी आलु यस वर्ष फल्यो, अघिल्लोको वर्षको तुलनामा अहिले राम्रै कमाइयो ।’ उनले आलु बेचेरै घरबार चलाइरहेको सुनाए ।
मुडे र निगालेको एक टोलमा नै तीन हजार धार्नी आलु उत्पादन हुने गरेको छ । यी दुई गाउँबाट मात्रै झन्डै १० लाख किलो आलु उत्पादन भएको स्थानीय श्रेष्ठको भनाइ छ । ‘यस क्षेत्रका ८ सय परिवार आलु खेतीबाट परिवार धानिरहेका छन्,’ श्रेष्ठले भने, ‘एक परिवारले वार्षिक आलुबाटै ५० हजारदेखि २ लाखसम्म आम्दानी गर्छन् ।’
अघिल्लो वर्ष १० लाख किलो उत्पादन भएको यस क्षेत्रमा हाल २० लाख किलो उत्पादन भएपछि कृषक उत्साहित भएका छन् । कृषि विकास कार्यालयका अनुसार यस भेगमा ८ हजार हेक्टर क्षेत्रफलमा अर्गा्निक आलु खेती हुने गरेको छ । आलुका लागि उर्वरभूमि मानिएको जेठलका झन्डै ९५ प्रतिशत घरधुरी आलुको व्यावसायिक खेतीमा होमिएका छन् । सहकारी र स्थानीय ठेकेदारद्वारा यस क्षेत्रको ‘ब्रान्डेड’ आलु जिल्लादेखि राजधानीसम्म निर्यात हुने गरेको छ ।
खेतबाटै बिक्री हुने गरेको मुडेको आलु प्याकिङका लागि छुटयाएर राख्ने गरिएको छ । यहाँको आलुको बीउसमेत अन्य जिल्लाका कृषकले महँगो मूल्यमा किनेर लैजाने गरेको स्थानीय कृषक बिर्खबहादुर श्रेष्ठले बताए । ‘बजारमा उच्च माग भएपछि यहाँको कृषकको मुख्य पेसा आलु खेती नै बनेको छ,’ उनले भने । यहाँका कृषकले पुसमा रोपेर साउन अन्तिममा यस जातको आलु भित्र्याउने गरेका छन् ।
कान्तिपुरबाट साभार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments