Online Bichar
बुधबार, मंसिर १०, २०८३ | Wednesday, November 25, 2026

विर्तामोड, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पौष ५ गते गरेको संसद विगठनको विरुद्धमा झापाली पत्रकारहरु सडक आन्दोलनमा निस्किएका छन् । नेपाली कांग्रस संयुक्त आन्दोलनको निर्णयमा पुग्न नसकिरहेको बेला झापाबाट प्रेस युनियन र प्रेस संगठनले भने संयुक्त आन्दोलनको सुरुवात गरेको छन् ।

संसदको तल्लो सदन प्रतिनिधिसभा विघटन गरेको विरोधमा ओलीकै गृह जिल्ला झापामा पत्रकारहरू टाउकामा कालो फेटा बाँधेर संयुक्त सडक आन्दोलनमा निस्किनुलाई विशेष रुपमा हेरिएको छ ।

बिर्तामोडको मुक्तिचोकमा भेला भएका प्रचण्ड-नेपाल समूहमा आवद्ध प्रेस संगठन तथा नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल प्रेस युनियन आवद्ध झापाली पत्रकारहरुले विभिन्न नाराका प्लेकार्ड लिएर नारावाजी गर्दै र्‍याली प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज), नारी सञ्चार गृह, आदिवासी पत्रकार संघसहित विभिन्न संघ(संगठनले ऐक्यवद्धता जनाएका थिए। पत्रकारहरूले प्रेस विरोधी कानुन फिर्ता गर, संविधानको रक्षा गर, प्रतिगमन मुर्दावाद लगायत नारा लगाएका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा अध्यक्ष तारामणि सापकोटाले झापामा प्रधानमन्त्री ओलीका भक्त मात्र छैनन् भन्दै संविधान मान्न प्रधानमन्त्री ओलीलाई सुझाव दिए।

पत्रकार महासंघ प्रदेश १ का सदस्य तीर्थ सिग्देल, महासंघका पूर्व अध्यक्ष कृष्ण हुमागाई, महासंघका पूर्व अध्यक्ष गोविन्दचन्द क्षेत्री, प्रेस संगठन नेपाल प्रदेश १ का संयोजक राजन केडी, झापा संयोजक मुक्ति पौडल, फोनिजका प्रदेश १ इन्चार्ज दिपिन राई, प्रेस युनियनका पूर्व केन्द्रिय सदस्य लोकराज ढकाल, रेडियो विराटकी प्रवन्ध निर्देशक तथा सञ्चारकर्मी लीला अनमोल, आदिवासी पत्रकार संघका अध्यक्ष इन्द्रसिंह राजवंशी, प्रेस संगठनका प्रदेश सदस्य सुव्रत न्यौपाने, नारी सञ्चार गृहकी अध्यक्ष भिमा शिवाकोटीलगायतले ओलीको प्रतिगमन विरुद्ध बोलेका थिए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments