Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

काठमाडौं, १५ वैशाख । अब निजी प्रयोगशालाले पनि कोभिड परीक्षण गर्न पाउने जनाएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा. विकास देवकोटाले कोभिड परीक्षणका लागि प्रयोगशालाको न्यूनतम मापदण्डको निर्देशिका जारी गरेको बताए ।

उनका अनुसार अब निजी प्रयोगशालाले पनि कोभिड १९ को परीक्षणका लागि बाटो खुलाभएको छ। सञ्चालन मापदण्ड पूरा गर्ने प्रयोगशालाले मन्त्रालयबाट छुट्टै अनुमति लिनुपर्ने उनले बताए।

यस्तैगरि प्रदेश १ सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाको उपचारको लागि १ सय बेड सञ्चालनमा ल्याएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  कोभिड-१९ को परीक्षण पीसीआर विधिबाट सुरु भएको छ, यो सँगै देश भरि पीसीआर विधिबाट परीक्षण गर्ने प्रयोगशालाको संख्या १६ पुगेको जनाइएको छ ।

मन्त्रालयका अनुसार सोमबारसम्म कोरोना संक्रमितको संख्या ५२ रहेको छ। जसमा १६ जना निको भएका छन्। सोमबारसम्म नेपालमा आरडीटी विधिबाट ४३ हजार ६३ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट १० हजार ४ सय ७१ परीक्षणहरु भएका छन्। गत २४ घण्टामा २ हजार १ सय ८४ जनाको परीक्षण भएको छ । हालसम्म दुवै विधिबाट ५३ हजार ५ सय ३४ वटा परीक्षणहरु भएका छन्। त्यसैगरी आजको अपडेटमा आइसोलेसनमा देशभरी १०६ जना रहेका छन्। काठमाडौँमा ८ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ९८ जना रहेका छन्। क्वारेन्टाइनमा २० हजार १सय ९५ जना रहेका छन्। रेडजोनमा रहेका सम्भावित संक्रमितको संख्या ८ जना थप गरी ३०४ पुगेको छ ।

तपाईको प्रतिक्रिया