Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

पत्रपत्रिका, समाचार

काठमाडौं, १५ बैशाख २०७७ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न स्वास्थ्य सेवा तथा पूर्वाधार विस्तार, व्यवस्थापन र चेतना कार्यक्रम व्यापक बनाउँदै लगिएको छ । पर्याप्त मात्रामा आइसोलेसन र क्वारेन्टाइनकोे व्यवस्था गरिएको छ भने कोरोना परीक्षणको दायरा फराकिलो बनाउँदै लगिएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ – नेपालको अन्तर्रा्ष्ट्रिय सीमा नाकाबाट आवागमनमा कडाइका साथ निगरानी गर्न सशस्त्र प्रहरी बल नेपालका ६५० चेक प्वाइन्ट रहेकोमा अहिले बढाएर एक हजार २१३ कायम गरिएको र २२ हजार जनशक्ति खटिएका छन् । यद्यपि खाद्यान्न र दैनिक उपभोग्य वस्तुको आयात नियमित रहेको छ ।

सीमा नाकामा आवागमन पूर्ण रूपमा बन्द गर्न सीमा सुरक्षाका साथै अन्य प्रयोजनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका गरी ८२ हजार ६५० सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र

सीसीएमसीद्वारा आइतबार छाउनीमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार देशभरि ३९ हजार ८२४ ‘क्वारेन्टाइन’ र तीन हजार २७ ‘आइसोलेसन’ बेडको व्यवस्थापन गरिएको र १४ हजार ७३१ जना ‘क्वारेन्टाइन’ मा र ‘आइसोलेसन’ मा छन् ।

अहिलेसम्म नेपाल–भारत सीमा नाकामा नेपालतर्फ एक हजार ७६ भारतीय र भारततर्फ २ हजार २० नेपाली रेन्टाइनमा रहेकोमा भारतको क्वारेन्टाइनमा रहेकामध्ये रुपन्देही सीमा नाकाबाट २९६ र कपिलवस्तु सीमा नाकाबाट ३५ गरी ३३१ जना नेपाली क्वारेन्टाइनमा राखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । त्यसैगरी नेपालको क्वारेन्टाइनमा रहेका १८८ भारतीय नागरिकलाई स्वदेश पठाइएको उनले बताए ।

परीक्षणको दायरा बढाइयो

सङ्क्रमणको बढी सम्भावना देखिएका क्षेत्रमा कोरोना परीक्षणको दायरा फराकिलो बनाइएको छ । स्वास्थ्य मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मीको छवटा संयुक्त टोलीले प्रदेश २ का २६ स्थानमा स्वाब सङ्कलन गर्ने काम गरिरहेको प्रवक्ता देवकोटाले जानकारी दिए । ६७ प्रकारका ३४२ टन औषधिजन्य स्वास्थ्य सामग्री खरिद गर्न चीनको सरकारी स्वामित्वमा रहेको चाइन सिनोफार्म इन्टरनेसनल कर्पोरेसनसँग एक करोड (८४ लाख ७०६ अमेरिकी डलर) मूल्य बराबरको सम्झौता भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

चीनसँग सम्झौता अनुसारको औषधिजन्य तथा स्वास्थ्य सामग्री ढुवानी गर्न बोलपत्र आह्वान गरिएकोमा ११ वटा फर्मबाट प्रस्ताव आएको र सो प्रस्तावको मूल्याङ्कन कार्य भइरहेको छ । त्यसैगरी भारत, चीन र सिँगापुरबाट स्वअनुरूपको औषधि तथा विभिन्न स्वास्थ्य सामग्री प्राप्त भएको जानकारीसमेत उनले दिए ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भारतबाट औषधि खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको बताउँदै परराष्ट्र मन्त्रालय हुँदै रकम भुक्तानीको तयारी भइरहेको जानकारी दिए । भारतसँग २ करोड ४० लाख रुपैयाँ बराबरको ५३ प्रकारका औषधि खरिद गरिँदै छन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments