Online Bichar
बुधबार, आषाढ १०, २०८३ | Wednesday, June 24, 2026

पत्रपत्रिका, समाचार
१४ बैशाख २०७७ आइतवार
काठमाडौं । सत्तारुढ दल नेकपामा स्थायी समिति बैठक बोलाउने विषयमा विवाद देखिएको छ। सरकारले फिर्ता लिएको २ अध्यादेशबारे समीक्षा गर्न बैठक बोलाउनुपर्ने मागमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली पक्ष अनिच्छुक देखिएको छ। यसले नेकपामा अध्यादेश विवाद मत्थर हुने संकेत देखिएको छैन।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ – २० स्थायी समिति सदस्यले बैठक माग गर्दै यही १० वैशाखमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाललाई पत्र बुझाएका थिए। त्यसपछि बैठक कहिले बोलाउने भन्नेमा दुई अध्यक्षबीच सहमति नजुटेको हो। ओली र दाहालले शुक्रबारदेखि दुई दिन बालुवाटारमा लगातार छलफल गरे पनि मिति टुंगो लाग्न नसकेको स्थायी समिति सदस्य मातृका यादवले बताए। ‘उहाँहरू (प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल) छलफलमै हुनुहुन्छ। एकरदुई दिनमै बैठकको मिति टुंगो लाग्छ’, दाहालनिकट नेता यादवले भने।

ओलीले बैठक बोलाउन आतुरी देखाएका छैनन्। ‘प्रधानमन्त्रीले अध्यादेश फिर्तापछि तत्काल पार्टी बैठक आवश्यक नरहेको र नियमित बोलाउन अहिले कोरोनाका कारण समाजिक दूरीको कुरा आउनेछ’, ओलीले दाहालसँग व्यक्त गरेको धारणा उद्धृत गर्दै एक नेताले भने, ‘केही समयपछि बोलाउँदा पनि हुन्छ। संसद् अधिवेशन कसरी बोलाउने भन्ने तयारी र बजेट तयारीमा जुट्नुपर्ने भएकाले समयलाई हेरेर अहिले होइन, जेठ अन्तिममा बोलाऔं।’

स्थायी समिति सदस्यहरूले उठाएका विषय सम्बोधन भइसकेकाले तत्काल बैठकको औचित्य नभएको प्रधानमन्त्रीले उल्लेख गरेका थिए। उनले शनिबार वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि बालुवाटार बोलाएर सचिवालय बैठक केही दिनमा बोलाउन सकिए पनि स्थायी समिति अलिक पछि बोलाउने जानकारी दिए। उनले शनिबारै उपाध्यक्ष वामदेव गौतमसँग पनि भेट गरेका थिए।

दाहाल, नेपाल र गौतमले भने स्थायी समिति सदस्यले माग गरेपछि विधानतः १५ दिनभित्रै बैठक बोलाउनुपर्नेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। ‘अध्यादेश फिर्ता हुनु स्वागतयोग्य काम भए पनि यसबारे स्थायी समिति सदस्यहरूले माग गरेअनुसार समीक्षा आवश्यक छ। पहिले सचिवालय बैठक बोलाऔं, लगत्तै स्थायी समिति बैठकमा जाऔं। १५र१६ तिर स्थायी समिति बोलाउने गरी सोचौं’, प्रधानमन्त्रीसँग दाहाल र नेपालको प्रस्ताव छ।

अर्का वरिष्ठ नेता झलनाथ खनालले स्थायी समिति सदस्यको मागका आधारमा बैठक तय गर्न अध्यक्षद्वयलाई आग्रह गरिरहेको बताए। ‘तत्काल बैठक बोलाएर समग्र विषयको अब समीक्षा आवश्यक छ’, वरिष्ठ नेता खनालले भने।

नेताहरू दौडधूपमा

चौतर्फी दबाबपछि प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएर अध्यादेश फिर्ता लिने निर्णय गरे। यस विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै नेताहरूले पार्टी बैठक बोलाउनुपर्ने अडान छाडेका छैनन्। बैठक बोलाउन दाहाल र नेपालले दबाब दिइरहे पनि ओली तयार नदेखिएपछि नेताहरूबीच दौडधूप तीव्र छ।

ओलीले शनिबार उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेललगायत आफूनिकट नेतासँग छलफल गरे। उनले वरिष्ठ नेता नेपाल र अर्का नेता गौतमसँग सँगै र त्यसपछि दाहाललाई पनि बालुवाटार बोलाएर थप छलफल चलाए।

दाहाल र नेपाल पक्षका नेताले ओलीमाथि नैतिकताको प्रश्न उठाउँदै राजीनामाकै विषय उठाउन सक्ने छन्। यही कारण अप्ठ्यारो पार्ने देखिएपछि ओलीनिकट नेता तत्काल बैठक पर धकेल्ने र यो बीचमा असन्तुष्ट पक्षका नेतालाई मत्थर बनाउने प्रयासमा जुटेका देखिन्छन्। यसका लागि पनि ओलीका विश्वासपात्र प्रदेश ५ का मुख्यमन्त्री पोखरेल शुक्रबारयता काठमाडौंमै छन्। उनले शुक्रबार कोटेश्वर पुगेर नेपालसँग छलफल गरेका थिए। शनिबार पनि उनले नेपालसँग नेता सोमप्रसाद पाण्डेको निवास शंखमूलमा पुगेर भेट गरे।

दाहालले शनिबार खुमलटारमा उपाध्यक्ष गौतम, स्थायी समिति सदस्य जनार्दन शर्मा, मातृका यादवलगायत नेतासँग छलफल चलाए।

महासचिव विष्णु पौडेल र नेपालबीच पनि शनिबार कोटेश्वरमा छलफल भयो। दाहालले शनिबार साँझ गृहमन्त्री रामबहादुर थापा र नेता शर्मासँग संयुक्त रूपमा भेटवार्ता गरे। यी आन्तरिक भेटघाट स्थायी समिति बैठक बोलाउनमै केन्द्रित रहेको नेताहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments