Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

काठमाडौं, ३० चैत्र। पर्सा जिल्लाको वीरगञ्जमा तीनजना नयाँ कोरोनाभाइरस (कोभिड–१९) संक्रमित फेला परेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरेको छ । मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङका लागि टोली परिचालन गरिसकेको जानकारी दिएको छ ।

संक्रमण देखिएका ३७, ४४ र ५५ वर्षीय पुरुषहरुको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १२ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म काठमाडौँस्थित जनस्वास्थ्य प्रयोगशालामा पीसीआर प्रविधिबाट ४ हजार २० जनाको नमुना परीक्षण गरिएको छ भने काठमाडौँबाहिर १ हजार ६४ जनाको परीक्षण गरिएको छ । त्यस्तै, ¥यापीड डायगोनिस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट कोभिड १९ को ३ हजार ३२१ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । योसँगै कूल ८ हजार ५०५ जनाको परीक्षण गरिएको छ ।

हाल क्वारेन्टाइनमा ९ हजार ९७३ जना रहेका छन् भने आइसालेसनमा ८५ जना रहेका छन् । रेड जोनमा २ सय ६ जनालाई राखिएको छ ।

संक्रमितको संख्या बढेसँगै सरकारले संक्रमण फैलिन नदिन लकडाउनको पूर्ण पालना गराउँदै क्वारेन्टाइनमा राख्ने र परीक्षणको दायरा बढाउने रणनीति लिएको डा. देवकोटाले बताए । परीक्षणको दायरा बढाएसँगै संक्रमणको स्थिति पत्ता लग्ने र उनीहरुको उपचारको साथै भावी राणनीति तय गर्न सहज हुने उनको भनाइ थियो ।रातोपाटी

तपाईको प्रतिक्रिया