Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

सप्तरी, १८ चैत्र । सप्तरीका दुई युवकलाई निर्घात कुटपिट गर्ने सशस्त्र प्रहरीका जवानलाई कारबाही गरिएको छ । कुटपिटमा संलग्न एक जवानलाई निलम्बन गरिएको छ भने अर्का एक जनालाई कारबाहीका लागि सदरमुकाम राजविराज तानिएको छ ।औषधि किनेर सीमावर्ती क्षेत्र भारतबाट आइरहेको अवस्थामा कुटपिट भएको थियो ।

दुई युवकलाई बलान बिहुल गाउँपालिकास्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा निर्घात कुटपिट गर्नेमध्येका मनोज चौधरीलाई निलम्बन गरिएको सशस्त्र प्रहरीले जनाएको छ । अर्का जवान केशव थापा मगरलाई सदरमुकाम राजविराज तानिएको छ ।

सशस्त्र प्रहरीको कुटपिटबाट बलान बिहुल गाउपालिका-३ मौवाहाका हरेकृष्ण साह र चन्दर यादव घाइते भएका छन् । सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट रामनगर कोदरकट्टीबाट खटिएको टोलीले यी दुबैलाई कुटपिट गरेका थिए ।

सशस्त्र प्रहरी उपरीक्षक न्यौपानेले आफ्ना जवानले दुबैलाई कुटपिट गरेर गल्ती गरेको भएपनि दुबै जना तस्कर भएको बताएका छन् । ‘उनीहरु औषधि नभई दैनिक उपभोग्य सामान लिएर आइरहेका थिए’ न्यौपानेले भने, “यसअघि पनि धेरै पटक भारतबाट सामान ल्याउनेको सूचीमा दुबै जना छन् ।”

सामान नल्याउन पटक–पटक दुबैलाई सम्झाएपनि नमानेको र देश मानवको स्वास्थ्यका लागि लकडाउन भएको समयमा पनि सामान ल्याउन नछाडेको उनले बताए । ‘लकडाउन गरिएको दुई दिनसम्म पनि सीमामा खटिने सुरक्षाकर्मीले उनीहरुलाई सम्झाएको र नमान्दा आक्रोशित भएर कुटपिटमै उत्रनुपरेको गल्ती आफ्ना जबानबाट भएको छ’ उनले भने ।

तपाईको प्रतिक्रिया