Online Bichar
सोमबार, बैशाख १७, २०८१ | Monday, April 29, 2024

विराटनगर, २४ फागुन । भारत हुँदै अवैध रूपमा कुवेत जान लागेका दुई युवतीलाई मोरङ प्रहरीले उद्धार गरेको छ। मानव तस्करले घरायसी श्रमिकका रूपमा कुवेत पठाउन लागेका २० र २२ वर्षीया दुई युवतीलाई प्रहरीले जोगवनी नाकाबाट बिहीबार उद्धार गरेको छ।

उनीहरूलाई नाका कटाउन तस्करका सहयोगी बनेका विराटनगर-१ का दीपक कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी अनुसन्धान अनुसार सिन्धुपाल्चोकका अर्जुन तामाङले काठमाडौंबाट माघ २१ गते राति बसमा विराटनगर पठाएको पाइएको छ। विरानगरमा रहेका तामाङका एजेन्ट राजुप्रसाद रिजालले बिहीबार बिहान बसपार्कबाट भारत पठाउन सहयोगी बनेका दीपक कुर्मीसँग भेट गराएको प्रहरीले जनाएको छ। रिजालले बिहीबार नै नाका कटाउन योजना बनाएर कुर्मीसँग युवतीलाई जोगवनी नाकातिर पठाए।

तर प्रहरीले युवती तस्करी गरी कुवेत पठाउन लागेको सूचना पाएपछि नाका पुग्न करिब दुई सय मिटर वर नै पक्राउ ग¥यो। सोधपुछका क्रममा कुवेत पठाउन लागेको पत्ता लागेपछि कुर्मीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताए। ‘बिरामी रहेका आफन्तलाई भेट्न आएको र किनमेलका लागि जोगवनी गएको भनेर भन्न सिकाइएको रहेछ,’ थापाले भने, ‘रिजालले आफूविरुद्ध प्रहरीमा जाहेरी नदिन धम्क्याएको पीडित युवतीले बताएका छन्।’ रिजाल र तामाङ फरार छन्। प्रहरीले तामाङ र रिजालको गिरोह मानव तस्करीमा पुरानै रहेको बताएको छ।

उद्धार गरिएका युवतीहरूले वैदेशिक रोजगारीको बाहनामा झुक्याएर प्रतिबन्धित मुलुक लैजान खोजेको भन्दै तामाङ, रिजाल र कुर्मीविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले अनुसन्धान थालेको छ। युवतीलाई खानबस्नसहित मासिक ३० हजार रुपैयाँमा घरेलु कामदारका रूपमा पठाउन लागिएको थियो। सहयोगीको भूमिका निभाउने कुर्मीलाई मोरङ कारागार चलान गरिएको छ। अदालतले चारलाख धरौटीमा कुर्मीलाई छाड्न आदेश दिए पनि उनले धरौटी बुझाउन नसक्दा कारागार चलान गरिएको हो।

तपाईको प्रतिक्रिया