Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

१७ जेठ, झापा । झापाको बाहुनडाँगीमा खुशीयाली छाएको छ । सरकारले झापाको बाहुनडाँगीदेखि डडेल्धुरा जोड्ने मदन भण्डारी राजमार्ग बनाउन ठूलो राशिको बजेट छुट्याएपछि खुशीयाली छाएको हो ।

चुरे तथा भित्री मधेशलाई समेट्दै अघि बढ्ने एक हजार २०० किलोमिटर लामो यो राजमार्गको पूर्वी्विन्दु मेचीनगर–१ बाहुनडाँगीको पाटापुर रहने छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार प्रस्तुत गरेको आव २०७५र७६ को बजेटमा मदन भण्डारी राजमार्गका लागि चार अर्ब ५० रूपैयाँ विनियोजन गरेका छन् ।

आफ्नो ठाउँबाट राजमार्ग बन्ने खबरले खुशी भएका बाहुनडाँगीका राजनीतिक दलका नेताले यसबाट विकासको नयाँ ढोका खुल्ने विश्वास गरेका छन् । पहिलेदेखि नै चुरे मार्गको रुपमा चर्चा हुँदै आए पनि केपी ओली नेतृत्वको सरकारले पहिलोपल्ट यो मार्गलाई राजमार्ग बनाउने घोषणासहित पर्याप्त बजेट समेत विनियोजन गरेको हो ।

नेपाली कांग्रेसका नेता नीरज घिमिरेले यो राजमार्गको निर्माणका लागि बजेट छुट्याएकोमा सरकारलाई धन्यवाद दिए । बाहुनडाँगी अत्यन्त पछाडि परेको दुर्गम ठाउँ भएकोले राजमार्ग खुल्ने कुराले स्थानीयवासीले थुप्रै अपेक्षा पूरा हुने विश्वास पालेको घिमिरेले बताए ।

पाटापुरबाट राजमार्गको शुरुवात हुने बजेटमा उल्लेख छ । मेचीनगर–१ का वडाध्यक्ष पासाङ तामाङ यो राजमार्ग बनाउन अति आवश्यक रहेको बताउँछन् ।

पाटापुर गाउँमा ८५ घर रहेको उल्लेख गर्दै उनले राजमार्ग बनेपछि गाउँकोस्वरुप बदलिएर ठूलो शहरको अवतार लिने आशा गरिएको बताए ।

भारततिरको लोहागढ–पानीघट्टा बाटोमा पिच रहेको बताउँदै उनले मेची पुलमा पुल बनाएर मदन भण्डारी राजमार्गलाई भारतीय मार्गसँग जोड्नुपर्ने धारणा राखे ।

तत्कालीन बाहुनडाँगी गाविसका अध्यक्ष नीलकण्ठ तिवारीले मदन भण्डारी राजमार्गको घोषणाले महेन्द्र राजमार्ग बन्दाखेरिदेखिकै सपना बल्ल पूरा भएको बताए ।

महेन्द्र राजमार्ग बनाउँदाखेरी चुरे मार्गको समेत सर्वेक्षण भएको जनाउँदै नेकपाका नेता समेत रहेका तिवारीले पाटापुरबाट बौद्धमोड–तेलपानी–बेँशीसहर हुँदै शान्तिनगरमा जोडिने यो बाटो अहिले पनि प्रचलनमा रहेको बताए ।

मेचीनगर–४ का वडाध्यक्ष नवीन बरालले चुरे क्षेत्रबाट नयाँ राजमार्ग बन्ने कुराले सबैलाई हर्षित तुल्याए पनि यो राजमार्ग बाहुनडाँगीको पाटापुरबाट शुरु हुनुपर्ने धारणा व्यक्त गरे ।

सरकारको नीति तथा कार्यक्रममा शान्तिनगरबाट शुरु गरिने उल्लेख भएको थियो’, वडाध्यक्ष बराल भन्छन्–“कहिले कता कहिले कता भनेर अल्मलाउनु हुँदैन, यो राजमार्ग बाहुनडाँगीको पाटापुरबाटै शुरु हुनुपर्छ ।”

महेन्द्र राजमार्गले मेचीनगरको बाहुनडाँगी, बुद्धशान्तिको बुधबारे, जयपुर र अर्जुनधाराको खुदुनाबारी हुँदै सुनसरीको चतरा जोड्ने बताइएको छ । चतरा–हेटाँैडाबीचको ३०० किलोमिटर बाटोमा भने सरकारले पहिल्यैदेखि पूर्वाधार निर्माण गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments