Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

– कल्पना पौडेल

काठमाडौँ, जेठ १६ । धूमपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने जानेर पनि धेरै मानिस यसको लतमा फँसेका छन् । यसको प्रयोगले वर्षे्नि हजारौँ मानिस क्यान्सर, मुटु, हृदयाघात, स्ट्रोकजस्ता समस्याबाट ज्यान गुमाउँछन् ।

विश्वमा २१ प्रतिशत सुर्तीजन्य पदार्थ प्रयोगकर्ता रहेको बताइन्छ । सुर्तीजन्य पदार्थको प्रयोग घटाउन सके ११ प्रतिशत मृत्यु घटाउन सकिने स्वास्थ्य मन्त्रालयको भनाइ छ । नेपालमा सुर्तीजन्य पदार्थकै कारण प्रत्येक वर्ष २५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको बताइन्छ ।

वीर अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाश रेग्मीको भने, ‘नसर्ने रोग बढाउन सुर्तीजन्य पदार्थले प्रमुख भूमिका छ, यसको प्रयोगदर घटाउन यस्ता पदार्थको मूल्य बढाउनै पर्छ ।’

मनमोहन कार्डियोभास्कुलर सेन्टरका उपप्रध्यापक तथा मुटुरोग सर्जन डा अनिल भट्टराईले नेपालका २० प्रतिशत जनतालाई कुनै न कुनै मुटुसम्बन्धी समस्या भएको बताउँछन् ।

उनले मुटु रोगबाट बच्न अझै पनि जनचेतना आवश्यक भएको उल्लेख गर्दै नियमित व्यायाम, खानपानमा सन्तुलन, वर्षमा एक पटक मुटुको जाँच, तौलमा सन्तुलन र धुम्रपानबाट विमुख रहन सुझाव दिए ।

वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्राडा विष्णुदत्त पौडेलले सुर्तीजन्य पदार्थको सेवन नै क्यान्सरको प्रमुख कारण भएकाले उपचारमा सहुलियतसँगै प्रभावकारी जनचेतनामा पनि जोड दिनुपर्ने बताउँछन् । नेपालमा धेरै फोक्सो, स्तन, पाठेघरको मुखको क्यान्सर, छाती र जिब्रोको क्यान्सरका बढी बिरामी भएको डा पौडेलको भनाइ छ ।

सरकारीस्तरमै सुर्तीजन्य पदार्थको सेवनलाई रोक्न उत्पादन मै कमी गर्न र जथाभावी बिक्री वितरणमा नियन्त्रण गर्न जरुरी रहेको उनको भनाइ छ । त्यसबाहेक पछिल्लो अध्ययनले मोटोपन, खानपान, प्रदूषण, व्यायाम, नियमित जाँच, मद्यपान नियन्त्रण गर्न सकिए क्यान्सरबाट बच्न सकिन्छ ।

धूमपानले अर्को असर गर्ने मुख स्वास्थ्यलाई पनि हो । हामी हाँस्दा, बोल्दा देखिने दाँत, फेर्ने सासले समेत आजकल व्यक्तित्वमा प्रभाव पार्न थालेको छ । बोल्न थाल्दा सास गन्हायो, हाँस्दा दाँतभरि लेउ, फोहर देखियो भने तपाईं हामी नै मुख छोप्छौं ।

हामीमध्ये धेरैलाई लाग्न सक्छ कि मात्र चुरोट र सुर्तीले हाम्रो दाँत मुखको विभिन्न भागलाई असर गर्छ । सुर्तीजन्य पदार्थ चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, सुपारी र गुट्खा लगायतको अत्यधिक प्रयोगले हाम्रो दाँत मात्र नभएर मुखभित्रको गिजा, छालामा समेत नराम्रो असर गरिरहेको हुन्छ ।

कान्तिपुर डेन्टल अस्पताल तथा रिसर्च सेन्टरका डा सुनिता खनालले धेरैलाई सुपारीले केही हुँदैन भन्ने लागे पनि सुपारीले समेत असर गर्ने बताउँछन् ।

धूमपानले मुखभित्र असर गरिरहेको भए पनि ठूलो समस्या नआएसम्म धेरैलाई थाहा नहुने उनको भनाइ छ । विशेष गरी श्रमिक, गाडी चालक, खलासी, किसान र गृहिणी बढी संख्यामा दाँत र गिजाको समस्या लिएर अस्पताल आउने गर्छन् ।

डा रोजिना भट्टराई दन्त शिविरमा उपत्यका बाहिर जाँदा पनि तराईमा गुट्खा, पान, सुर्ती, चुरोट र पहाडमा बिँडी, सुर्ती, खैनी, चुरोट बढी प्रयोग गर्ने गरेको अनुभव सुनाउँछन् ।

धूमपानले मुखमा रातो, सेतो दाग देखिने, दाँतमा पहेँलो कालो दाग देखिने, गिजाले आफ्नो ठाउँ छोड्ने, दाँत माझ्दा रगत आउने, हल्लिने, मुखभित्रपट्टि गालामा घाउहरु हुने र मुख खोल्न नमिल्ने जस्ता समस्या देखिने दन्त चिकित्सकको भनाइ छ । रासस

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments