Online Bichar
शनिबार, बैशाख २२, २०८१ | Saturday, May 4, 2024

काठमाडौं, १३ पुष । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल सञ्चालक कम्पनीहरु फेसबुक र गुगल लगायतले नेपालमा दर्ता भएर कार्यालय खोल्नुपर्ने बताएका छन् । नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ता बढीरहेको परिस्थितिलाई मध्यनजर गर्दै नेपालमा चल्ने सामाजिक सञ्जाल कम्पनी दर्ता गनुपर्ने उनको भनाइ थियो ।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ माथि उठेका प्रश्नको जवाफ दिँदै बाँस्कोटाले सामाजिक सञ्जाल प्रयोगमार्फत हुने कारोबारमा कर लगाउन पनि ती कम्पनी नेपालमा दर्ता हुनुपर्ने बताएका हुन्।

फेसबुक विश्वका ३५ देश र गुगल ४० देशमा दर्ता भएको उदाहरण दिँदै बाँस्कोटाले ती कम्पनी नेपालमा पनि दर्ता हुनुपर्ने तर्क गरेका हुन्। त्यस्तै, फेसबुकले २०१८ मा अमेरिकालाई २ अर्बभन्दा बढी अमेरिकी डलर कर तिरेको र अन्य मुलुकमा ९७ करोड डलरभन्दा बढी कर तिरेको बताउँदै नेपालमा पनि सामाजिक सञ्जालबाट हुने कारोबारमा कर लाग्ने उनले बताए।

‘फेसबुक प्रयोगको माध्यमबाट नेपालको कुल राष्ट्रिय विज्ञापनको १० प्रतिशत रकम बाहिर गएको छ। त्यसलाई करको दायरामा ल्याउन पनि उनीहरु नेपालमा दर्ता हुनुपर्ने प्रावधान विधेयकमा अनिवार्य गरिएको हो,’ उनले भने। बाँस्कोटाले सामाजिक सञ्जाल प्रयोगकर्ताले दर्ता गराउनुपर्छ भन्ने भ्रम छरिएको बताए।

तपाईको प्रतिक्रिया