Online Bichar
सोमबार, बैशाख २४, २०८१ | Monday, May 6, 2024

राजविराज, २६ मंसिर । सप्तरीमा सुत्केरी उपचारबापतको रकम अस्पताललाई बुझाउन नसक्दा एक महिला अस्पतालमै बन्धक बनेकी छिन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाकी ललितादेवी खंगले विराटनगरस्थित विराटनगर अस्पतालमा ३ लाख ५० हजार रुपैयाँ बुझाउन नसक्दा अस्पतालबाट डिस्चार्ज हुन पाएकी छैनन् ।

न्यून आय भएका ललितादेवीको पति गोपीकुमार अस्पताललाई बुझाउने रकम जोहो गर्न १ महिने सुत्केरीलाई अस्पतालमै छाडेर यतिखेर आफ्नो गाउँ र सदरमुकाममा भिख माग्न भौंतारिरहेका छन् । दलित समुदायकी ललितालाई विराटनगरस्थित जनरल हस्पिटल एन्ड ट्रमा केयर सेन्टरमा दुई छोरी जन्माएपछि ललितालाई थप उपचारका लागि विराटनगर अस्पताल पुर्‍याइएको थियो ।ट्रमा सेन्टरमा रहँदा पत्नीकोे उपचारका लागि लागेको खर्च पतिले यसअघिनै ट्रमा सेन्टरलाई १ लाख ७४ हजार बुझाइसकेका थिए । नवजात जुम्ल्याहा जन्माएकी ललिताको एक शिशुको मृत्यु भइसकेको छ भने अर्की शिशु जिबितै छिन् ।

यता विराटनगर अस्पताल प्रशासनले ललिताको उपचारमा लागेको खर्च नतिरेकोले उनलाई डिस्चार्ज नगरिएको जनाएको छ । अति गम्भीर अवस्थामा ललितालाई अस्पतालमा ल्याइएको र आवश्यक उपचार गरीसकेपछि उपचार खर्च अस्पतालले माग्नु स्वभाविक रहेको प्रतिक्रिया दिएको छ ।

तपाईको प्रतिक्रिया