काठमाडौं, ३० कार्तिक । प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी अब निजामती कर्मचारी सेवामा नहुने भएका छन् । सङ्घीय–संसद्मा विचाराधीन सङ्घीय निजामती सेवा ऐनले प्रदेशमा समायोजन भएका कर्मचारीलाई प्रदेश निजामती र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई स्थानीय तहका कर्मचारी हुने प्रस्ताव गरेको छ ।
प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीले निजामती कर्मचारीको मर्म नै मेटिने गरी आफूहरूलाई ललीपप देखाएर प्रदेश र स्थानीय तहमा समायोजन गरिएको गुनासो गरेका छन् ।
नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष केदारप्रसाद देवकोटाले प्रदेश र स्थानीय तहमा समायोजन भएका कुनै पनि कर्मचारी सन्तुष्ट नभएको बताए ।
नेपाल निजामती कर्मचारी युनियन सङ्घका उपाध्यक्ष एवं प्रदेश ३ का अध्यक्ष एकनारायण काफ्लेले सरकारले कर्मचारी समायोजनका नाममा कर्मचारीलाई छिन्नभिन्न बनाएको बताए ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अहिले सङ्घमा समायोजन भएका कर्मचारीमा ३९ हजार ५३३, प्रदेशमा १३ हजार ७९०, स्थानीय तहमा निजामती कर्मचारी ३१ हजार ७०८, साविक स्थानीय निकायका ११ हजार ७१८, विभिन्न समिति र प्रतिष्ठानमा कार्यरत ३१७ जना कर्मचारी समायोजन भएका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन भएका सबै कर्मचारीको समस्या क्रमिक रूपमा समाधान हुने जनाएको छ । सङ्घीय निजामती सेवा ऐन, प्रदेश निजामती ऐन र स्थानीय सेवा ऐन निर्माण भएपछि सबै कर्मचारीको समस्या समाधान हुने मन्त्रालयका प्रवक्ता भूपाल बरालले बताए। उनले समायोजन हुने क्रममा केही समस्या हुनु स्वाभाविक भएको भन्दै निजामती कर्मचारीको समस्या अब धेरै समयसम्म नरहने स्पष्ट पारे।गोरखापत्र






