Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

काठमाडौं, १८ कार्तिक । नेकपा सचिवालय बैठकले सातै प्रदेशका लागि प्रमुख नियुक्तिका लागि सात जनाको नाम सिफारिस गरेसँगै मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।

नेकपा बैठकले अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा), गोविन्द कलौनी (डडेल्धुरा), शर्मिला त्रिपाठी (काठमाडौँ) र विष्णु प्रसाईँ (झापा) को नाम सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

यद्यपि कसलाई कुन प्रदेशको प्रमुखको जिम्मेवारी दिने भन्नेचाहिँ मन्त्रिपरिषद्को बैठकले टुंगो लगाउने छ । प्रदेश प्रमुखलाई संघीय सरकारको प्रतिनिधिको रुपमा लिइन्छ ।

सरकारले आइतबार सातै प्रदेशका प्रदेश प्रमुखलाई हटाउने निर्णयसँगै नेकपाले नयाँ नामको टुंगो लगाएको हो ।

सरकारको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १ का गोविन्द बहादुर तुम्बाहाङ, प्रदेश २ का रत्नेशवर लाल कायस्थ, प्रदेश ३ का अनुराधा कोइराला, गण्डकीका बाबुराम कुँवर, प्रदेश ५ का उमाकान्त झा, कर्णालीका दुर्गा केशर खनाल र सुदूरपश्चिमका मोहनराज मल्ललाई प्रदेश प्रमुखको जिम्मेवारीबाट पदमुक्त गरेकी थिइन् ।

राष्ट्रपतिले संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम उनीहरुलाई पदमुक्त गरेकी हुन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments