Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

बिर्तामोड, चैत्र २० । झापा जिल्ला सहकारी संघ, डिभिजन सहकारी कार्यालय झापा, जिल्ला बचत तथा ऋण सहकारी संघ, केन्द्रीय सुपारी संघ, साना किसान विकास बैंक तथा राष्ट्रिय सहकारी बैंकले संयुक्त रुपमा मंगलबार झापाको विर्तामोडमा सहकारी दिवस मनाए ।

‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने मूल नाराका साथ आज ६१औं राष्ट्रिय सहकारी दिवस झापामा पनि उल्लास पूर्वक मनाइएको हो ।

झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा आयोजित समारोहको उद्घाटन प्रमुख अतिथि प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले पानसमा दीप प्रज्वलन गरेर गरेका थिए ।

सो समारोहमा यसवर्षको उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार विर्ताज्योति साप्ताहिकका सम्पादक तीर्थ सिग्देल र उत्कृष्ट सञ्चार संस्थाको पुरस्कार बिर्तामोडमा सञ्चालित सूर्योदय टेलिभजनलाई प्रदान गरियो । जनही पाँच हजार ५५५ रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

टेलिभिजनको पुरस्कार प्रबन्ध निर्देशक विष्णु मैनाली उप्रेतीले ग्रहण गरेकी थिइन् । सिग्देल दुई दशकदेखि झापामा सक्रिय पत्रकारिता गर्दै आइरहेका छन् भने सूर्योदय टेलिभिजन विगत तीन वर्षदेखि बिर्तामोडमा सञ्चालित छ । उनीहरुलाई प्रमुख अतिथि मन्त्री कार्कीले सम्मानपत्र प्रदान गरेका थिए ।

यस वर्ष उत्कृष्ट सहकारी व्यक्तित्वका रुपमा नरेन्द्रकुमार शेर्मा लिम्बू, देवी निरौला बस्नेत र कमल काफ्लेलाई सम्मानित गरियो । यसैगरी उत्कृष्ट सहकारी व्यवस्थापकका रुपमा राष्ट्रसेवक सहकारी संस्था झापाका व्यवस्थापक अनुज खतिवडा, नीलकण्ठ निरौला र गीता (ढकाल) निरौलालाई नगदसहित सम्मान गरियो ।

यसैगरी, महालक्ष्मी कृषि सहकारी संस्था लि मेचीनगर, पतालगंगा बचत तथा ऋण सहकारी संस्था बिर्तामोड, एकता बहुउद्देश्यीय सहकारी संस्था हल्दिबारी, पृथ्वी बचत तथा ऋण सहकारी संस्था कनकाई, साना किसान महिला कृषि सहकारी संस्था बैगुनधुरा र युनिक बचत तथा ऋण सहकारी संस्था दमकलाई उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मान गरियो ।

समारोहमा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि मन्त्री कार्कीले देशमा राजनीतिक क्रान्ति सकिएको र आर्थिक समृद्धिको युग शुरु भएकोले समृद्ध राष्ट्र निर्माणमा सहकारीको महत्वपूर्ण भूमिका रहने बताए ।

झापा जिल्ला सहकारी संघका उपाध्यक्ष गीता कुँवरले धन्यवाद ज्ञापन गरेको समारोहमा प्रदेश सांसद एकराज कार्की र अर्जुन राई तथा आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख बोलराज आचार्यले मन्तव्य राखेका थिए ।

समारोहमा सहभागी हुनुअघि झापाका विभिन्न स्थानबाट कार्यक्रममा सहभागिता जनाउन बिर्तामोडमा भेला भएका सहकारी संस्थाहरुले आ–आफ्नो संस्थाको व्यानरसहित बिर्तामोडको मुक्तिचोकबाट र्याली निकालेका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments