काठमाडौं, १४ कार्तिक । जापान भाषा परीक्षाको मिति अझै अनिश्चित हुने भएको छ । जापानी भाषा परीक्षाका लागि तोकिएको समय गुज्रिएसँगै भाषा परीक्षाको मिति थप अनिर्णित भएको हो । यसअघि नेपाल श्रम तथा रोजगार विभाग र जापानी पक्षबीच यहि कार्तिक ११ र १२ गते पहिलो चरणमा भाषा परीक्षा लिने निर्णय भएको थियो ।
जीटुजी हुने भनिएको भाषा परीक्षा आवश्यक तयारी र दुई पक्षको समन्वयन हुन नसक्दा मिति गुज्रिएको वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी भोलानाथ गुरागाईंले रातोपातीलाई बताए । गत हप्तामात्र नेपाल–जापान दुई पक्षबीच श्रम, रोजगार तथा भाषा परीक्षाकै विषयमा भिडियो कन्फ्रेन्स भएको थियो । उक्त कन्फ्रेन्समा श्रम सम्झौता सम्बन्धी लेनदेनको विषयमा कुराकानी भएता पनि भाषा परीक्षाको विषयमा भने एकिन मिति तय नभएको निर्देशक गुरागाईंले बताए ।
कृषि, मत्स्यपालन, औद्योगिक, होटल, रेष्टुरेन्ट, पर्यटन लगायत १४ क्षेत्रमा कामदार पठाउने र रोजगार दिने गरी नेपाल–जापान दुई देशबीच यसअघि नै जीटुजी श्रम सम्झौता भइसकेको छ ।






