गौरादह, ३ कार्तिक । नेपाल मानव धर्म सेवा समिति शाखा गौरादहले धार्मिक पर्यटन प्रवर्द्धन गर्न आध्यात्मिक सांस्कृतिक पर्यटन महोत्सव २०७६ संचालन गर्ने भएको छ। गौरादहमा यहि मंसिर ८ गते देखि १६ गते सम्म सबै जातजाति भाषाभाषी धर्म संस्कृतिलाई अटाउन सक्ने र सबैलाई अपनत्व दिलाउन सक्ने पर्यटन महोत्सव संचालन गरिने आयोजकका मूल समारोह समितिका अध्यक्ष डा.तिलक खनालले पत्रकार सम्मेलनमा जानकारी गराए।
गौरादह क्षेत्रमा रहेका प्राकृतिक तथा धार्मिक सांस्कृतिक सम्पदाहरुको अन्य क्षेत्रमा समेत प्रचारप्रसार गराउने महोत्सवको लक्ष्य रहेको जानकारी गराईएको थियो। गौरादह नगरपालिका वडा नं. १ को वडा कार्यालयमा पत्रकार सम्मेलन गरि महोत्सवमा मुर्तिकला, चित्रकला, स्थानीय जातजाति, भाषाभाषीहरुले प्रयोग गरेका सामग्री, खानपिन,भेषभुषा,स्थानीय उत्पादनहरु, धार्मिक, आध्यात्मिक दर्शन सास्त्रीहरुका पुस्तकहरुका साथै ब्यापारीक स्टलहरु समेत प्रदर्शनीको रुपमा राखिने जानकारी गराईएको थियो। सो महोत्सवमा धार्मिक स्थल पाथिभरा देवी, पशुपतिनाथको डमि बनाई आरति गराईने जानकारी समेत गराइएको थियो ।
पर्यटन बर्ष २०२० लाई समेत सघाउ पुर्याउनु कासाथै आन्तरिक पर्यटक प्रवर्द्धन गर्दै समाज र देशलाई रुपान्तरण गर्न धार्मिक क्षेत्रको महत्त्व दर्शाउने उद्देश्यले संचालन गरिने महोत्सवमा निशुल्क प्रवेश दिईने र करिव १२ लाख सम्मको लागतमा सम्पन्न गर्ने लक्ष्य रहेको बताइएको थियो। महोत्सवबाट बचेको रकम गौरादह-४ को मिलन चौकमा निर्माणाधिन अवस्थामा रहेको मानव धर्म सेवा समितिको भवनमा लगाइने जानकारी गराईएको थियो।
महोत्सवलाई थप आकर्षक बनाउन ख्याति प्राप्त ब्यासाचार्यबाट महापुराण वाचन, कलाकारका कलाहरु,मानव उत्पति र चित्रकला प्रदर्शनी, गौशालाको व्यवस्था र गौपूजन, योग र विशेष ध्यान शिविर,लोकप्रिय नेपाली बाजाहरुको प्रदर्शनी, गौरादहका लोकप्रिय व्यक्ति स्व.नरबहादुर डिठ्ठाको स्मरणमा तयार पारिएको एकांकी नाटक प्रदर्शनी तथा नैतिक आचरण र शिक्षा प्रदान गर्न सकिने लघु नाटकहरुको प्रदर्शनी गरिने जानकारी गराईएको थियो।






