विराटनगर, ५ असोज । नेपाली कांग्रेसले पहिलो पटक प्रदेश नं. १ सभाको बेल घेराउ गरेको छ । प्रदेश सरकारले सार्वजनिक निजी साझेदारी अवधारणा अनुरुप ल्याएको मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धी विधेयकको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बेल घेराउ गरेको हो ।
आइतबारको प्रदेश सभाको बैठकमा सामाजिक विकास समितिबाट बहुमतले पारित मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धी विधेयकको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको थियो । तर बैठक सुुरु हुनसाथ नेपाली कांग्रेसका सांसदहरुले बेल घेराउ गर्दा गर्दै सामाजिक विकास समितिका सभापति सरिता थापाले समितिबाट बहुमतले पारित प्रतिवेदन पेश गर्नुभयो ।
सभापति थापाले प्रतिवेदन वाचन गरुन्जेल कांग्रेसका सांसदहरुले नाराबाजी गरेका थिए । यस अघि कांग्रेसको विरोधका कारण दुई पटक प्रदेश सभाको बैठक स्थगित गरिएको थियो । त्यसअघि सामाजिक विकास समितिमा बहुमतले मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धी विधेयकको संसोधनहरु पारित गरेको थियो ।
प्रदेश सभाको अर्को बैठक असोज ६ गते (भोलि) दिउसो १ बजेका लागि बोलाइएको छ ।






