विराटनगर, १७ भदौ । विराटनगर भन्सार नाकाबाट दुई साता पूरानो विल र विषादी परीक्षणको प्रमाण–पत्रको आधारमा तरकारी आयात गर्ने गरिएको पाइएको छ । जोगबनीबाट विराटनगरतर्फ ल्याइँदै गरेको ६ सय किलो तरकारी प्रहरीले चेकजाँच गर्ने क्रममा दुई साता पूरानो विल र विषादी परीक्षण प्रमाण–पत्र फेला परेको हो ।
विराटनगर स्थित राम ट्रेडर्सको नाममा आयात गरिएको सो तरकारी प्रहरीले पक्राउ गरेपछि ठेला–चालकले साउन ३० गतेको विल र साउन ३१ गतेको विर्तामोड स्थित विषादी अवशेष द्र्रुत विश्लेषण प्रयोगशाला इकाईको बिषादी परीक्षण गरिएको प्रमाण–पत्र देखाएका थिए ।
पक्राउ गरिएको ४ ठेला तरकारी विराटनगर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ गरिएको तरकारीमा परवल, गोलभेडा, चटल, हरियो खुर्सानी, काँक्रो र ओल रहेको छ ।
तरकारी आयातमा ५ प्रतिशत कृषि सुधार शुल्क लाग्ने गरेको छ भने विषादी परीक्षण प्रमाण–पत्र अनिवार्य गरिएको छ । तर, खुला सीमाको फाइदा उठाउँदै तरकारी आयातकर्ताहरुले चोरी नाकाबाट तरकारी आयात गर्ने र एउटै विषादी परीक्षण प्रमाण–पत्रका आधारमा पटक–पटक तरकारी विराटनगरसम्म पु¥याउने गरेका छन् ।
पक्राउ गरिएको तरकारीको विषादी जाँच गरेर खानयोग्य भए लिलाम गरिने तर, खान अयोग्य भए नष्ट गरिने विराटनगर भन्सार कार्यालयले जनाएको छ ।न्युज२४






