Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

काठमाडौं,  ३१  साउन ।  प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई पक्राउ गरेको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणसँग जोडिएका लामिछाने, युवराज कँडेल र अस्मिता कार्की पक्राउ परेका हुन् ।

नुवाकोटका पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि भन्दै उनीहरुलाई पक्राउ गरिएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।

रवि लामिछाने न्यूज २४ टिभीबाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता हुन् भने कँडेल पनि सो कार्यक्रमका सञ्चारकर्मी हुन् । यता पक्राउ परेकी ओखढुंगाकी कार्की भने नर्स हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवन र महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले लामिछाने र कँडेललाई साँझतिर लाजिम्पाटस्थित टेलिभिजन कार्यालयबाटै पक्राउ गरेको हो भने कार्कीलाई कलंकीबाट नियन्त्रणमा लिएको हो ।

पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय चितवनमा उनीहरुविरुद्ध किटानी जाहेरी परेको छैन् । यता परिसरका प्रवक्ता होविन्द्र बोगटीले सार्वजनिक चासोको विषय भएर उनीहरुलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको बताए ।

पत्रकार पुडासैनी २०७६ साउन २० गते चितवनको होटल कंगारुको कोठा नम्बर २०२ मा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । उनले आत्महत्या गर्नु अघि रुँदै आफैंले मोबाइलमा दुई वटा भिडियो बनाएका थिए । यो विषयमा चितवन प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पुडासैनीले रेकर्ड गरेको भिडियो मिडियामा बुधबार मात्र ‘भाइरल’ भएको थियो । भिडियो सामाजिक सञ्जालमा सनीसनीपूर्णरुपमा छाएपछि प्रहरीले तीनै जना पक्राउ गर्न बाध्य भएको हो ।

मृत्युअघि पत्रकार पुडासैनीले रेकर्ड गरेको भिडियोमा ‘सिधाकुरा जनतासँग’का सञ्चारकर्मी लामिछाने र कँडेलसहित ती युवतीले आफूलाई आत्महत्याका लागि विवश बनाएको उल्लेख गरेका छन् ।

१० दिनपछि मिडियामा भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धानको लागि भन्दै रविसहित ३ जनालाई नियन्त्रणमा लिएको हो । रवि र कँडेललाई चितवन लगिँदैछ भने कार्कीलाई दिउँसो नै लगिएको हो ।

पत्रकार पुडासैनीले आत्महत्या गर्नुभन्दा अगाडि खिचेको भिडियो प्रहरीले बरामद गरेपछि प्रहरी हेडक्वार्टरमा अनुसन्धानको लागि पठाइएको थियो । चितवन प्रहरीले बरामद गरेका ती भिडियो प्राविधिक परिक्षणका लागि भन्दै प्रहरी प्रधान कार्यालयमा रहेको डिजिटल फरेन्सिक ल्याब पठाइएको थियो । मोबाइल तथा भिडियो प्रमाणित भएसँगै रवि पक्राउ परेको हुनसक्छ ।

चितवन प्रहरीले रविलाई नियन्त्रणमा लिन काठमाडौं परिसरको सहयोग मागेको पाइएको छ । चितवन प्रहरी र परिसरको टोली साँझ ७ बजेतिर न्यूज २४ टिभीको कार्यालय पुगेको थियो । १५ मिनेट जति प्रहरीले रविसँग केही छलफल गरेपश्चात नियन्त्रणमा लिइएको पाइएको छ ।

रवि र युवराजलाई नियन्त्रणमा लिएलगत्तै जिल्ला प्रहरी कार्यालय चितवनले एक विज्ञप्ति जारी गरेर उनीहरुको पक्राउ परेको पुष्टि गरेको छ । विज्ञप्तिमा रवि र युवराजलाई न्यूज २४ को कार्यालयबाट र कार्कीलाई कलंकीबाट पक्राउ गरेको उल्लेख गरेको छ ।

भिडियोमा करिब १० मिनेटभन्दा बढी पत्रकार पुडासैनीले आफ्नो मृत्युको कारणबारे खुलाएका छन् । उनले भिडियोका अन्त्यमा रुँदै भिडियोमा श्रीमती सम्झना र आमाबुवासँग माफी समेत मागेका छन् ।रातोपाटी

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments