झगेन्द्र खड्का
गौरादह, २४ साउन । संघ संस्थाहरुले उपभोक्ताहरुलाई प्रविधि बाटै सेवा सुविधा दिन शुरु गरेका छन् । उपभोक्ताहरुलाई आधुनिक प्रविधिको ज्ञान दिन र त्यसको प्रयोग गरि सेवा सुविधा दिन नयाँ कार्यक्रमहरुको थालनी भएको छ । गौरादह खानेपानी तथा सरसफाई उपभोक्ता समितिले पानी प्रयोग गर्ने उपभोक्ताहरुलाई अनलाइन सेवा मार्फत खानेपानी महशुल तिर्ने व्यवस्था मिलाएको छ ।
खानेपानी कार्यालयको सभा हलमा सोलार प्लान्ट तथा महशुल अनलाइन भुक्तानी कार्यक्रमलाई उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य दिपक कार्कीले नगरभित्रका सबै क्षेत्रमा क्रमश शुद्ध खानेपानीको व्यवस्था मिलाइने जानकारी गराए । ई–सेवा बाट भुक्तानी गर्न प्राविधिक पक्षलाई व्यवस्थीत बनाउँदै उपभोक्ताहरुलाई सचेत बनाउन तालिमको व्यवस्था गर्नुपर्ने बताए । विकास निर्माणको काममा कसैले पनि राजनिती नगर्न आग्रह गर्दै दिर्घकालीन सोचका साथ नगरबासीहरु अगाडि बढेमा विकास निर्माणले तिव्रता पाउने धारणा राखे ।
खानेपानी कार्यालय गौरादहले खानेपानी महशुल भुक्तानीका लागि ई–सेवा शुरु गरे सँगै टाढा बाट गाडी भाँडा खर्च गरि घण्टौ समय सम्म लाइनमा बसी महशुल तिर्ने प्रक्रियाको अन्त्य भएको छ । घरैमा बसेर मोबाइल बाटै खानेपानी महशुल भुक्तानी गर्न पाएकोमा व्यवसायी नारायण कार्कीले खुशी व्यक्त गरे ।
त्यसअवसरमा खानेपानी तथा सरसफाई डिभिजन प्रमुख सयन श्रेष्ठले खानेपानी संस्थाहरुलाई डिभिजन कार्यालयलाई सहयोग गर्न सकारात्मक रहेको धारणा राखे ।

नेकपा का गौरादह नगर अध्यक्ष मित्रदेव काफ्ले उपभोक्ताहरुलाई शुद्ध खानेपानीको व्यवस्था गर्न उच्च स्तरीय प्रयोगशालाको व्यवस्था गर्नुपर्ने बताए । नेपाली काँग्रेस गौरादह नगर अध्यक्ष यादवराज सेढाईंले खानेपानीलाई व्यवस्थीत र गुणस्तरीय रुपमा वितरण गरिनुपर्ने धारणा राखे । शुभलक्ष्मी सहकारी संस्थाका सचिव राजु घिमिरेले शुभलक्ष्मी एपबाट खानेपानीको अनलाइन महशुल तिर्न सकिने जानकारी गराए । राप्रपा का देवेन्द्र कुमार खड्काले ई सेवालाई प्रभावकारी बनाइनुपर्ने धारणा राखेका थिए ।

खानेपानी संस्था गौरादहले उपभोक्ताहरुलाई २४ सै घण्टा पानीको व्यवस्था मिलाउन पम्प तथा क्रम्प्रेसर चलाउन सक्ने ४५.४ किलोवाट क्षमताको सोलार प्लान्ट जडान गरेको छ । प्रदेश नं. १ को भौतिक योजना मन्त्रालय बाट ९६ लाख ५२ हजार रकम निकासा भएपछि सोलार प्लान्ट जडान गरिएको हो । नगरपालिका भित्र ९ वटा खानेपानी आयोजनामा दुई वटा सञ्चालनमा आएका छन् । ७ वटा खानेपानी आयोजनाहरु निर्माणाधिन अवस्थामा रहेका छन् । नरेस कार्कीले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव डण्डीराज घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रम खानेपानी तथा सरसफाई उपभोक्ता समिति गौरादहका अध्यक्ष बाबुराम भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो ।






