काठमाडौं , २३ साउन । नेपाल प्रेस युनियनको महाधिवेशन आगामी मंसिरमा काठमाडौँमा हुने भएको छ ।
प्रेस युनियनको बुधबार अबेर बसेको सचिवालय बैठकले आगामी मंसिर २८ र २९ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
यसअघि अघिल्लो बर्ष मंसिर २८ र २९ गते महाधिवेशन गर्ने घोषणा गरिए पनि हुन नसके पछि पुनः आगामी मंसिरका लागि अर्को मिति घोषणा गरिएको हो । तर युनियनको विधान बमोजिम सचिवालय वैठकलाई महाधिवेशनको बारेमा निर्णय लिन सक्ने अधिकार नभएको भन्दै केही केन्द्रीय सदस्यले आपत्ति जनाएका छ्न् ।
सचिवालय वैठकले महाधिवेशनबारे आवश्यक तयारीका लागि नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्य , कबिर राणा र समिरजंग शाह सम्मिलित एक समितिको गठन गरेको पनि युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिनुभयो ।
युनियनको वर्तमान कार्यसमितिको कार्यकाल दुई वर्षअघि नै सकिए पनि महाधिवेशनको माग गर्दै केन्द्रीय पदाधिकारीहरुले नै दबावमूलक कार्यक्रम अघि बढाएपछि महाधिवेशनको मिति तय गरिएको हो । तर महाधिवेशनको मितिको वैधानिकताका लागि केन्द्रीय कार्य समितिको बैठक तत्काल बोलाउनुपर्ने अधिकांश केन्द्रीय समिति सदस्यहरुको माग छ ।






