Online Bichar
आइतबार, जेठ ०६, २०८१ | Sunday, May 19, 2024

काठ्माडौं, ४  असार  ।  सुरेन्द्र कोइरालाले ४ वटा विषयमा स्नातकोत्तर पास गरेका थिए। उनलाई पास मात्र हैन गोल्ड मेडलिष्ट बन्ने रहर थियो। पछिल्लो पटक उनी त्रिभूवन विश्वविद्यालय अन्तर्गतको पाटन क्याम्पसमा अर्थशास्त्रमा भर्ना भए।

यसपटक पनि गोल्ड मेडलिष्ट हुनेमा उनी ढुक्क थिएनन्। उनले चोरबाटो खोजे। नभन्दै उनले एकजना विचौलिया भेटे जसले परीक्षानियन्त्रक कार्यालय बल्खुका गोप्य शाखा प्रमुख रामु कर्माचार्यसम्म पुर्‍याइदिए।

दुवैबीच रकम लेनदेन र अंक थपको बार्गेनिङ भयो। यो सूचना थाहा पाएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक साता अघि कर्माचार्यलाई पक्राउ गर्यो। उनीसँगै गोप्य शाखाका केही कागजात पनि अख्तियारले उठायो।

तिनै कागजातले उनीहरूको मिलेमतो पुष्टी भयो। अख्तियार स्रोतका अनुसार कोइराला पनि आजै पक्राउ परेका छन्।
कोइरालाले स्नातकोत्तर तह अर्थशास्त्र विषयमा सबैभन्दा बढी अंक हालिदिन कर्माचार्यलाई मोटो रकम बुझाएको अख्तियारको दाबी छ। कति रकम भन्ने बारे अझै अनुसन्धान भैरहेको छ।

अख्तियार स्रोतका अनुसार, गोप्य शाखा प्रमुख कोइरालाले फेल भएका विद्यार्थीसँग पैसा लिएर नम्बर थप्दै पास गराइदिने गरेको पनि प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। अख्तियार प्रवक्ता प्रदीप कुमार कोइरालाले भने अनुसन्धान भइरहेको विषयमा बोल्न नमिल्ने बताए।

तपाईको प्रतिक्रिया