Online Bichar
शनिबार, मंसिर ०६, २०८३ | Saturday, November 21, 2026

काठमाडौं,  ४  असार  ।   सरकारले क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ (इनर्जी ड्रिंक र फ्लेबर सेन्थेटिक ड्रिक्सलगायत) को आयातमा बन्देज लगाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ र यस्तै प्रकारका पेय पदार्थको आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको जनाएको हो।

सरकारले पेय पदार्थको आयातमा प्रतिबन्ध लगाए पनि पेय पदार्थको कम्पनी र ब्रान्ड नाम भने उल्लेख गरेको छैन। मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईकाअनुसार मन्त्रिपरिषदले जेठ १० गते गरेको निर्णयअनुसार स्वास्थ्यमा हानी पुर्‍याउने यस्ता पेय पदार्थमाथि प्रतिबन्ध लगाइएको हो।

सरकारले मंगलबार नै यससम्बन्धी सूचना राजपत्रमा प्रकाशित गरिसकेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनकाअनुसार रसायन, गुलिया, फलफूलको फ्लेबर, क्याफिन तथा सिन्थेटिक मिसाएर तयार पारिएको पेय पदार्थको सेवनबाट सर्वसाधारणको स्वास्थ्य पनि बिग्रने र ब्यापार घाटा पनि अत्याधिक हुने भएकाले यस्ता पेय पदार्थको आयातमा प्रतिबन्ध लगाइएको हो।

यसबाहेक सरकारले २० माइक्रोनको सट्टा ३० माइक्रोभन्दा कम मोटाइका प्लास्टिकका झोला तथा सिटको आयातमा पनि पूर्ण प्रतिबन्ध लगाएको छ। यस्तै बस्तुको उपभोग अवधी भन्सार विन्दुमा आइपुग्दा कम्तिमा ७५ प्रतिशत बाँकी रहेको अवस्थामा मात्रै उपभोग्य बस्तु आयात गर्न पाउने व्यवस्था गरिएको छ।

तर जीवनरक्षक औषधिको आयातको हकमा औषधि व्यवस्था विभागको सिफारिसअनुसार व्यवस्थापन गरिने मन्त्रालयले जनाएको छ। ताजा तरकारी तथा फलफूल आयात गर्दा सम्बन्धित भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य रुपमा गर्नुपर्ने व्यवस्था गरिएको छ।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments