काठमाडौं, ८ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले कर छली गर्ने जोकोहीलाई कार्वाहीको दायरामा ल्याउने बताउनु भएको छ । राजश्व विभाग प्रधानमन्त्रीको मातहतमा आएपछि राजश्व हिनामिना गर्नेहरु कार्वाहीको दायरामा आएको बताउँदै, जसको कारण पनि सरकारले राजश्व संकलनमा सफलता हात पारेको बताउनु भएको हो ।
राजश्व असुलिमा सदाचार कायम राख्न राजस्व विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत ल्याइएको स्पष्ट समेत पार्नुभएको छ । बुधबार ‘राजस्व चुहावट, अनुसन्धान र नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ माथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री खतिवडाले राजश्व प्रशासनलाई स्वच्छ प्रशासन कार्यालय बनाउन प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको मातहतमा राखेको र जसले गर्दा सहज भएको बताउनु भएको हो ।
सरकारले राजस्व संकलनमा सफलता हासिल गरेको बताउदैँ अर्थमन्त्री खतिवडाले कर तिर्नु सबैको कर्तव्य भएको र कर छली गर्ने जोकोहीलाई पनि कार्वाहीको गर्ने चेतावनी समेत दिनुभयो ।






