Online Bichar
बुधबार, मंसिर १०, २०८३ | Wednesday, November 25, 2026

मेलम्ची, ३ जेठ ।  अभिभावकको घरमा गएर सुन र नगद चोरेको आरोपमा विद्यालयका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ खानीगाउँस्थित श्री भैरवीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक कमला जोशीलाई स्थानीय माया घलेको घरमा पसेर सुन चोरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।

मादक पदार्थ सेवन गरी दुई तोलाभन्दा बढी सुन र तीन हजार चोरेको जोशीले स्वीकार गरेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ। लामो समयदेखि सोही स्कूलमा पढाउँदै आएकी जोशीले दिउँसो तीन बजेतिर माया घलेको घरमा पसेर दराजमा भएको सुन चोरेको पीडित घलेले बताइन्। सुन चोरेर भाग्ने क्रममा स्थानीयवासीको सहयोगमा बाटोबाटै नियन्त्रणमा लिएको घलेको भनाइ छ।

आफ्नो औँठी लगाएको देखेपछि सुन चोरेको रहस्य खुलेको थियो। स्थानीयवासीको सहयोगमा उनलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाइएको थियो। अभियुक्त जोशी पटकपटक विभिन्न घटनामा संलग्न रहेको आरोप लाग्दै आएको मेलम्ची नगरपालिकाका शिक्षा शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए। जोशी कहिले स्कूल जाने त कहिले नजाने गरी काम गर्दै आएको र स्कूल जाँदा पनि मादक पदार्थ सेवन गरेर जाने गरेको स्थानीयवासी गोविन्द घलेको भनाइ छ। जोशीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यलय मेलम्चीमा राखिएको प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए।रासस

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments