गौरादह, १८ बैशाख । गौरादह नगरपालिका वडा नं. ९ को वडा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुलाई सहजताको लागि टोकन प्रणालीको व्यवस्था गरिएको छ । साविकको बैगुन्धुरा गाविस वडा नं. ९ मा कायम रहँदा क्षेत्रफल फराकिलो र जनसंख्याको चाप बढि भएका कारण वडा कार्यालयमा सेवाग्राहीहरुको भिडभाड हुने गरेको वडा नं. ९ का वडासचिव खड्ग बहादुर थापाले जानकारी गराए ।वडा कार्यालयमा दैनिक ५० भन्दा बढि सेवाग्राहीहरु सेवा लिन आउने गरेको सचिव थापाले बताए ।
सेवा लिन आउने सेवाग्राहीहरु कार्यालय समयमा एकैचोटि आउँदा भिडभाड भई कार्यकक्षको अगाडि लाइन बस्नुपर्ने बाध्यता थियो । सेवाग्राहीलाई लाइन नबसी सहज रुपमा कार्यालयको सेवा दिन वडा कार्यालयले टोकन प्रणालीको व्यवस्था गरेको छ । वडा कार्यालयले सेवाग्राहीहरुको सहजताको लागि अनलाइन सेवा दिइरहेको छ । व्यक्तिगत घट्ना दर्ता, जन्मदर्ता, मृत्युदर्ता, बसाईंसराई, लगायत कार्यालयले दिने सम्पूर्ण सेवाहरुलाई अनलाइन प्रक्रिया बाट शुरु गरिसकेको छ ।
वडा नंं. ९ का वडाध्यक्ष सिताराम भट्टराईले कार्यालयमा सेवा लिन आउने उपेन्द्र निरौलालाई पहिलो टोकन उपलब्ध गराई उद्घाटन गरे । उद्घाटन गर्दै वडाध्यक्ष भट्टराईले स्थानीय तहमा नमुनाको रुपमा वडा नं. ९ ले यसप्रकारको व्यवस्था मिलाएको जानकारी गराए । सेवा लिन आउने वडाबासीहरुले कुनै प्रकारको झन्झट नबेहोरी सहज रुपमा सेवा लिन पाउने विश्वास व्यक्त गरे ।
सोही दिन कार्यालयमा सेवा लिन आउने समर्पण खतिवडाले वडा कार्यालयमा काम गर्न आउँदा लाइन बस्नुपर्नेमा टोकन प्रणाली बाट छहारीमा बसी आफ्नो पालोमा सेवा लिन पाउँदा खुशी व्यक्त गरे ।






