Online Bichar
सोमबार, बैशाख २४, २०८१ | Monday, May 6, 2024

काठमाडौं, ११ बैशाख ।  राष्ट्रपति विद्यादेवी भण्डारी ९ दिने राजकीय भ्रमणका लागि बुधबार चीन प्रस्थान गरेकी छिन‍्। बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन भण्डारी त्यसतर्फ गएकी हुन्।

राष्ट‍्रपतिलाई विदाई गर्न उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगाएतका उच्च अधिकारीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए। राष्ट्रपति भण्डारीको टोली विमानस्थलबाट नेपाल वायु सेवा निगमको उडान नम्बर आरए ००१ बाट चीन गएको हो।
गणतन्त्र स्थापनापछि पहिलोपटक छिमेकी चीनले राष्ट्रपतिलाई बेइजिङमा स्वागत गर्ने तयारी गरेको छ। अघिल्ला राष्ट्रपति डा.रामवरण यादव दुई पटक चीन भ्रमणमा गए पनि बेइजिङको आतिथ्य पाएका थिएनन्। अप्रिल २६ र २७ मा हुने बीआरआईमा बेइजिङ पुग्ने पाहुनामध्ये सबैभन्दा लामो चीन बसाइ राष्ट्रपति भण्डारीको हुनेछ।

अर्को छिमेकी भारतले नेपालमा गणतन्त्र आएलगत्तै चुनिएका राष्ट्रपतिलाई नयाँदिल्लीमा राजकीय सम्मान गरेको थियो। तर चीनले त्यही सम्मानका लागि झन्डै १० वर्ष लगाएको हो। चीनको उक्त स्वागतले नेपाल–चीन सम्बन्ध उचाइमा पुग्ने विश्वास सरकारले लिएको छ।

राष्ट्रपति भण्डारीले बीआरआई उद्घाटनसत्रमा विशेष सम्बोधन गर्नेछिन्। बीआरआई अभियानमार्फत पूर्वाधार विकास, रेल र सडक सञ्जाल विस्तार, पर्यटन संस्कृति, जनसम्पर्क, आर्थिक सहकार्यको विकासलगायतमा छलफल हुने बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ।

राष्ट्रपति सीले आयोजना गर्ने राउन्ड टेबल छलफलमा पनि राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ। चिनियाँ परराष्ट्रमन्त्री वाङ यीका अनुसार सम्मेलनमा ३७ देशका सरकार तथा राष्ट्र प्रमुख सहभागी हुनेछन्।
सान्सी प्रान्तको राजधानी सियान हुँदै जाने राष्ट्रपतिले फर्कंदा ल्हासाको भ्रमण गर्ने कार्यक्रम रहेको छ।

एसियाबाट नेपालसहित पाकिस्तान, सिंगापुर, मलेसिया, थाइल्यान्ड, ब्रुनाई, कम्बोडिया, भियतनाम, म्यान्मार, युनाइटेड अरब इमिरेट्स सहभागी हुनेछन्। युरोपबाट रूस, इटाली, अस्ट्रिया, चेक रिपब्लिक, ग्रिस, हंगेरी, सर्बिया, स्विजरल्यान्ड सहभागी हुनेछन्।

सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिव र अन्तर्राष्ट्रिय मुद्रा कोष संगठनका महाप्रबन्धक पनि सहभागी हुनेछन्। यस्तै जर्मनी, फ्रान्स, स्पेन, बेलायत, जापान, दक्षिण कोरिया र ईयूबाट पनि उच्चस्तरीय प्रतिनिधि सहभागी हुनेछन्।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया