Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

जनकपुरधाम, ८ वैशाख ।  केन्द्रीय स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवको लगानी रहेको जनकपुरधाम ८ स्थित जानकी हेल्थकेयर एन्ड टिचिङ अस्पतालमा कार्यरत नर्स झुण्डिएको अवस्थामा फेला परेकी छन् । अस्पतालको शौचालयमा उनको शव फेला परेको हो ।

महोत्तरीको गौशाला घर भई टिचिङ अस्पतालमा कार्यरत अन्दाजी २५ वर्षीया रक्षा आलेले शनिबार राति १ बजे शौचालयको फलामे पाइपमा सलले पासो लगाई आत्महत्या गरेको बताइएको छ।

शौचालय सानो भएको, खुट्टा तल भुइँमा छोएको, भित्र छुरा पाइएको र ढोका फुटाइएकोले उनले आत्महत्या नै गरेकी हुन भन्नेमा शंका उब्जेको छ।

आइतबार बिहान उनका आफन्त पुगेपछि प्रहरीले प्रक्रिया पुर्‍याएर शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगेको छ।

आत्महत्या गरेको भनिएका रक्षाकी आफन्त रूद्र बर्जामगरले शौचालयमा झुण्डिएको अवस्था हेर्दा शंकास्पद देखिएकोले घटनाको छानविन गर्न माग गरेका छन्।

रक्षाका बुवा लालबहादुरका अनुसार उनी ६, ७ महिनादेखि टिचिङ अस्पतालमा काम गरिरहेकी थिइन्।

प्रहरीले घटनाको विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया