झगेन्द्र खड्का
गौरीगंज, ५ वैशाख । झापाको दक्षिण क्षेत्रमा रहेका बजारहरुमा खुल्ला स्थानमा नै माछा, मासु बिक्रि गर्ने गरेका छन् । गौरीगंज गाउँपालिका र गौरादह नगरपालिका का केहि बजारहरु दामुना, ग्वालडुब्बा, गौरीगंज खजुरगाछी बजार आसपासमा रहेका मासु पसलहरु अव्यवस्थित र खुल्ला स्थानमा नै सञ्चालन भइरहेका छन् ।
माछा मासु बिक्रि गर्ने अधिकांश मासु पसलेहरु मापदण्ड पुरा नगरि बिक्रि वितरण गरिरहेका छन् । मासु बिक्रि गर्ने पसलेले घुम्ती वा सामान्य ओत लाग्ने टहरो र खुल्ला चौरमा खाट राखि बिक्रि गरिरहेका छन् ।
विगत लामो समय देखि खुल्ला स्थानमा नै मासु बिक्रि गरिरहँदा नियमनकारी निकाय भने मौन छ । लामो समय देखि मासु बिक्रि गरिरहेका व्यापारिहरुले मासु बेच्नका लागि निश्चित मापदण्ड पुरा नगरि मासु बिक्रि गर्दा मानव शरिरमा प्रतिकुल असर पर्न सक्ने स्थानीयबासीहरु बताउँछन् ।
ठुला साना सवारीका साधनहरु तथा पैदल यात्रीहरु ओहोर दोहोर गर्ने सडक आसपासमा माछा मासु काटेर बिक्रि गर्ने गर्दछन् । सडक छेउमा धुलो उड्ने, नालाको दुर्गन्ध आउने र झिंगा भन्केको ठाउँमा खुलेआम मासु बिक्रि गर्दा उपभोक्ताहरु प्रत्यक्ष मारमा परेका छन् । दक्षिणी क्षेत्रका बजारमा मासु बिक्रि गर्ने व्यवस्थीत बधशालाको निर्माण नभएका कारण खुल्ला स्थानमा नै मासु बिक्रि गर्नु परेको मासु व्यवसायी बुधलाल राजवंशी बताउँछन् ।
मासु खाने बानी भइसकेपछि खान मन लाग्ने र पाहुना आउँदा मासु नै लानुपर्ने हुन्छ । तर मासु लिन आउँदा भने, फोहर र धुलो उडेको देख्दा भने दिक्क लाग्ने गौरीगंजका रामनारायण दास बताउँछन् । मासुलाई घरमा लगि धोएर सफा गरि पकाउनु पर्ने बाध्यता रहेको दास बताउँछन् । यसलाई व्यवस्थित गर्न सरकारी तवरबाट व्यवस्थित बधशाला निर्माण गर्न आवश्यक रहेको उनले बताए ।
गौरादह नगरपालिकाको ग्वालडुब्बा, दामुना, स्कुलचौन, गौरीगंज गाउँपालिका अन्र्तगतका गौरीगंज , खजुरगाछी लगायत अन्य भित्रि बजारहरुमा खुल्ला स्थानमा नै मासु बिक्रि गर्ने गरेका छन् । दक्षिण क्षेत्रका साना बजारहरुमा हाटको दिन मात्र माछा मासु बिक्रि गरेपनि ठुला बजारहरुमा भने, दैनिक बिक्रि गरिरहेका छन् । व्यवसायिक रुपमा मासु व्यवसाय गर्ने व्यापारिहरुले निश्चित मापदण्ड पुरा नगरि मासु बिक्रि गर्दा नागरिकहरुको स्वास्थ्यमा असर पर्ने गरि मासु बिक्रि गर्दा सम्बन्धित निकायबाट कुनै प्रकारको कार्यवाही भएको छैन ।
गौरीगंज आसपासका क्षेत्रमा जथाभावी रुपमा माछा मासु बिक्रि गर्ने व्यापारीहरुले व्यवसाय दर्ता नगर्दा राजस्व समेत गुमेको छ । गौरीगंज क्षेत्रमा रहेका माछा मासु पसलेहरुले दर्ता नगरि व्यवसाय गर्दै आएकाले यस क्षेत्रमा के कति व्यवसायी छन् यकिन भन्न नसकेपनि १६ भन्दा बढि रहेको गौरिगंज उद्योग वाणिज्य संघका अध्यक्ष मखना महतो बताउँछन् । गौरीगंज क्षेत्रमा मासुमा खसि, कुखुरा, राँगा, बंगुर, माछा लगायतका मासु जन्य बिक्रि भए पनि दैनिक रुपमा करीब ५ क्वीन्टल सम्म बिक्रि हुने अध्यक्ष महतो बताउँछन् ।
अव्यवस्थित माछा मासु पसललाई व्यवस्थि गर्ने लक्ष्य लिएको गौरीगंज गाउँपालिका का अध्यक्ष बाबुराजा श्रेष्ठ बताउँछन् । गाउँपालिकाले व्यवस्थित बधशाला निर्माण गर्न यस वर्ष २० लाख रुपैयाँ विनियोजित गरेको र गौरीगंज ३ मा रहेको गाउँपालिकाको ५ कठ्ठा जग्गामा व्यवस्थित बधशाला निर्माण गर्ने बताए । गाउँपालिकाले चाँडै समिति गठन गरि तिव्र गतिमा काम गरि यसै आर्थिक वर्षमा माछा मासु पसल स्थानान्तरण गर्ने बताए ।