गौरादह, ३ वैशाख । गौरादह नगरपालिका ७ को दुधाली महाराज थानमा मेला लगाइएको छ । सिरुवा पर्वको अवसरमा प्रत्येक वर्ष लगाईंदै आएको मेलामा यस वर्ष पनि दुधाली महाराज र शक्ति महाराजको पुजा अर्चना गरि मेला लगाईएको छ ।
आदिवासी समुदायहरुले नयाँ वर्षको अवसरमा सिरुवा पर्व मनाउँदै कुल देवताको पुजा गरि महाराज थानमा मेला लगाउने गरेका छन् । महाराज थानमा भक्तजनहरुले कागजी घोडा, चिनिको लड्डु, परेवा, सुनचाँदी चढाउनुको साथै भाकल अनुसारको सामग्रीहरु महाराजलाई चढाउने गरेका छन् । मेला भर्र्न दमक, गौरादह, गौरीगंज, मोरङ्गका साथै छिमेकी मित्र राष्ट्र भारत बाट समेत आउने गरेको मेला आयोजक समितिका सचिव गंगाराम राजवंशीले बताए ।
यस क्षेत्रमा रहेका महाराज थानमा प्रत्येक वर्ष मेला लगाईदै गरेकाले त्यसका लागि आवश्यक बजेट स्थानीय सरकारले नगरसभा बाट विनियोजित गर्नुपर्ने सचिव राजवंशीले बताए ।
नगरपालिकाले महाराज थानमा आवश्यक पर्ने भौतिक निर्माण का लागि आवश्यक रकम विनियोजित गरेकाले स्थानीय स्तरबाट पनि जागरुक देखाउनु पर्ने वडा नं. ७ का वडाध्यक्ष बलराम खरेलले बताए । दुधाली महाराज थान आसपासमा करिब ३ बिगाहा जग्गा रहेकाले त्यस क्षेत्रमा धार्मिक पर्यटकीय स्थल निर्माण गर्नका लागि आवश्यक पहल गरिसकिएको जानकारी गराए ।
नगरपालिका स्तरबाट गाउँको विकासका लागि कार्य भइरहंदा यस क्षेत्रमा रहेका धार्मिक ऐतिहासीक सम्पदाहरुको संरक्षण गर्न आवश्यक रहेको दुधाली टोल विकास समितिका अध्यक्ष राजेस राईले बताए ।
गौरादह नगरपालिका का मेयर तथा कार्यक्रमका प्रमुख अतिथि रोहित कुमार शाहले कार्यक्रमको उदघाटन गर्दै आदिवासी समुदाय लगायत अन्य समुदायहरुकको ऐतिहासीक सम्पदाहरुको संरक्षण गर्न स्थानीय सरकार सकारात्मक रहेको धारणा राखे । मेला आयोजक समितिका अध्यक्ष रघुनाथ राजवंशीको सभापतित्वमा मेला सञ्चालन भएको थियो ।