Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

गंगा बराल, काठमाडौं । संविधानसभाका पूर्व सांसद्ले अझै लोगो पाएका छैनन् । संसद्को कार्यकाल सकिएको तीन महिना बितिसकेको छ । कार्तिक ४ गते संसदको समयावधि सकिएको थियो । प्रतिनिधिसभाको निर्वाचनको उम्मेदवारी दिने अघिल्लो दिन संसद्को कार्यकाल सकिने संवैधानिक व्यवस्था छ ।

संसद् सचिवालयका अनुसार पूर्व सांसदले पाउने लोगोको ढाँचा तयार हुँदैछ । दोस्रो संविधानसभाको कार्यकाल सकिने बेलामा संसदको राज्य व्यवस्था समितिले पूर्व सांसदलाई लोगो उपलव्ध गराउने निर्णय गरेको थियो । संसद् बैठकको अन्तिम दिन संसदमा सभामुख ओनसरी घर्ती मगरले सांसदहरुलाई लोगो उपलव्ध गराउने घोषणा गरेकी थिइन् ।

संसद सचिवालयका सहसचिव तथा प्रवक्ता डा. भरतराज गौतमका अनुसार पूर्व सांसदका लागि दिइने लोगो बनाउने काम भइरहेको छ । गौतमले सचिवालयले तत्काल जरुरी पर्ने अन्य काम गरिरहेकाले त्यतातर्फ धेरै ध्यान नपुगेको बताए । दुवै संविधानसभामा गरी झण्डै साढे नौ सय सांसदहरु पूर्व भएका छन् । एउटा संविधानसभामा छ सय एकजना रहेकाले दुइवटा संविधानसभामा गरी १२ सय दुई सांसद रहेका छन् । जसमा कतिपय सांसद दोहोरिएका छन् भने कसैको निधन भइसकेको छ । दोस्रो संविधानसभामा सरकारको सिफारिसमा मनोनीत हुने २६ मध्ये दुइजना सांसद् मनोनीत भएका थिएनन् । ‘संसद सचिवालयले उहाँहरुलाई पहिले नै भने अनुसार लोगो उपलव्ध गराउँछ, तयारी भइरहेको छ ’ डा. गौतमले भने ‘ दुबै संविधानसभाका सांसदहरुले लोगो पाउनुहुन्छ ।’ संविधान बनाउने महत्वपूर्ण कार्य गरेबापत सचिवालयले लागो दिने निर्णय गरेको थियो ।

छलफलको सुरुमा दोस्रो संविधानसभाका सांसद्लाई मात्र लोगो दिइने भनिएपनि पहिलो संविधानसभाले पनि संविधान निर्माणमा योगदान गरेको भन्दै अन्तिम समयमा दुइवटै संविधानसभाका सांसदलाई दिने निर्णय भएको थियो ।
संसद सचिवालयका जिन्सी इकाई ( स्टोर ) का शाखा अधिकृत बिनोदकुमार मालीले पूर्व सांसदलाई दिइने लोगोको ढाँचा बनिसकेको बताए । मालीले लोगो बनिसकेपछि कसरी वितरण गरिने भन्ने प्रमुख नेतासँग छलफल हुने जनाए ।

पूर्व सांसद्लाई दिइने लोगोमा माथि नेपालको संविधान, बीच भागमा संविधानको पुस्तक र तल सातजना मानिसको टाउको राखिएको मालीले जनाए । लोगोमा एकातिर चन्द्र र अर्कातिर सूर्यको आकृति रहेको छ । दोस्रो संविधानसभामा उपलव्ध गराइएको लोगो धातुसहित सुन र चाँदीसमेत मिश्रित भएकाले महंगो परेको थियो । सुरुमा निःशुल्क उपलव्ध गराइएको लोगो हराएर वा बिग्रेर अर्को लिनुपरे ४५ सय ८० रुपैंया तिर्नु पर्दथ्यो । सांसद्हरुले कार्यकाल रहँदा नै पाएको लोगो पनि फिर्ता गर्नु पर्दैन । संविधान बनाउने महत्वपूर्ण कार्य गरेबापत सचिवालयले लोगो दिने निर्णय गरेको थियो ।

अब प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदका लागि भने एउटै लोगो बनाइने छ । निर्माण खर्च नै बढी भएकाले एकपटक हराएपछि फेरि बनाउँदा सोही अनुसारको शुल्क लिनुपरेको र सांसद्हरुले महंगो भएजस्तो महसुश गरेकाले पनि शाखाले अबको लोगो सस्तो मूल्यको बनाइने जनाएको छ । वर्तमान मन्त्रीहरुले लाउने गरेको मन्त्रिपरिषद् लेखिएको भन्दा थोरै ठूलो आकारको लोगो बनाउने तयारी गरिएको शाखाले जनाएको छ । अन्तरिम संसदमा बनाइएको लोगो नै त्यसपछिका दुईवटा संविधानसभामा सामान्य हेरफेर गरेर प्रयोगमा ल्याइएको थियो ।

अन्तरिम संसदको कार्य व्यवस्था परामर्श समितिले लोगो डिजाइन गरेका कलाकार टेकबीर मुखियालाई ५० हजार रुपैंया दिने निर्णय गरेको थियो । पञ्चायतकालमा पनि मुखियाले नै लोगो डिजाइन गरेका थिए । ‘ मुखियाको कलाको सम्मान गर्दै पूर्व सांसदलाई दिने लोगो बनाउँदा ७५ हजार रुपैंया दिने निर्णय भएको छ ’ मालीले भने ‘ मुखिया झण्डै ८० वर्षको पुग्नुभएको छ तरपनि अझै सक्रिय हुनुहुन्छ त्यसैले पनि उहाँको विकल्प खोजिएन ।’

तपाईको प्रतिक्रिया