Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

गंगा बराल, काठमाडौं । सयभन्दा बढी सांसदले राहदानी विभागद्धारा जारी रातो पासपोर्ट बुझाएका छैनन् ।
सांसदका लागि विशेष सुविधाको रातो पासपोर्ट परराष्ट्र मन्त्रालयको राहदानी विभागले उपलव्ध गराएको थियो ।

यो पासपोर्ट भएपछि कुनै पनि देशमा बिना रोकटोक प्रवेश भिसा पाइन्छ । संसदको कार्यकाल कार्तिक ४ गते सकिएको थियो । संसद सचिवालयबाट सांसदले उपभोगका लागि लगेका सम्पूर्ण सामाग्री फिर्ता गर्न पटकपटक आग्रह गरेपनि अझैपनि केही सांसदले अटेर गरिरहेका छन् ।

पूर्व सांसदले आफूसँग सम्वन्धित भएका आर्थिक प्रशासन शाखा, जिन्सी इकाई (स्टोर), सवारी साधन व्यवस्थापन शाखा, अनुसन्धान तथा पुस्तकालय शाखा, अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखासँग सम्पर्क गरी ‘क्लियरेन्स’ को फारम भर्नुपर्ने हुन्छ ।

संसदको कार्यकाल सकिएको ३ महिनाभन्दा बढी भएपनि धेरै सांसदहरुले पासपोर्ट नबुझाएको संसद सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखाको रेकर्डमा उल्लेख छ । शाखाकी उपसचिव रेखा उपाध्याय खनालका अनुसार चार सय ९८ जनाले रातो पासपोर्ट लिएका छन् ।

हराएर वा पाना सकिएर फेरि बनाउने पनि यो तथ्यांकमै समावेश गरिएको छ । परराष्ट्र मन्त्रालयको राहदानी विभागले माघ ३ गते संसदको यो शाखालाई पठाएको पत्रमा तीन सय १२ जनाले राहदानी बुझाएको उल्लेख छ । शाखामा पासपोर्ट रद्यका लागि दुई सय ८६ वटा आवेदन परेका थिए । त्योबाहेक २४ जनाले शाखासँग समन्वय नगरी सिधै राहदानी विभागमा गएर पासपोर्ट रद्य गरेको विभागले जनाएको छ । ‘ हामीकहाँ आएका निवेदन र त्यसलाई प्रक्रियामा लगेर रद्य गरेको मात्र यहाँ जानकारी पठाइन्छ’ उपाध्यायले भनिन् ‘ कोही सांसदले विभागमै गएर रद्य गरे त्यो थाहा हुँदैन ।’ रद्य गरेका पासपोर्ट प्रायजसो सांसदहरुले लाने छन् ।

मन्त्रीले संसद सचिवालयमा जानकारी नदिइकन बनाएका पासपोर्टको तथ्यांक पनि यो शाखामा हुँदैन । अहिले पनि केही पासपोर्ट जम्मा भएको र आएजति विभागमा पठाइने उपाध्यायले जनाइन् ।
राहदानी विभागले पहिलोपटक गत कार्तिक १२ गते एक सय ४३ र अन्तिमपटक पौष २३ गते ६० वटा पासपोर्ट रद्य गरेको छ । विभागले सात दिन एक÷एकवटा मात्र पासपोर्ट रद्य गरेको छ । विभागले जम्मा २३ दिन पासपोर्ट रद्य गरेको उसको तथ्यांकमा उल्लेख छ ।

२०६४ सालका सांसदले अझै ल्यापटप बुझाएनन्

संविधानसभाको पहिलो निर्वाचन (२०६४ साल) मा सांसदहरुले अझैपनि ल्यापटप बुझाएका छैनन् ।
संसदको जिन्सी इकाई (स्टोर) का अनुसार त्यहाँबाट लगिएका ५६ मध्ये ३० वटा ल्यापटप आउन बाँकी छ ।

‘ हामीले बारम्बार सामान फिर्ता गर्न भनिरहेका छौं, हुन्छ भन्नुहुन्छ तर आउनुहुन्न ’ एक कर्मचारीले भने ‘ धेरै भन्न पनि राम्रो नहुने भएकाले आग्रह गरिरहेका छौं, बुझेर छिटै ल्याउनुहोला भन्ने आशा छ ।’ शाखाले सभामुख, विपक्षी दलको नेता, सत्ता पक्षका प्रमुख नेता, प्रमुख सचेतक, संसदीय समिति सभापतिलाई ल्यापटप उपलव्ध गराएको थियो । पहिलो संविधानसभामा लगिएका झण्डै १० वटा ल्यापटप नआएको हो ।

संसद सचिवालयले १० जनासम्म सांसद भएका संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतकका साथै सबै संसदीय समिति सभापतिहरुलाई सवारीसहित चालक र ईन्धन उपलव्ध गराएको थियो । सवारी साधन व्यवस्थापन शाखाका शाखा अधिकृत ज्ञानहरी पन्थीले सबै सवारी फिर्ता भइसकेको जनाए । अनुसन्धान तथा पुस्तकालय शाखाकी पुस्तकालय प्रमुख कमलादेवी शर्माले केही पुस्तकहरु आइनसकेको बताइन् । ‘ पूर्व सांसदहरु (उहाँहरुले) ले नै चासो देखाउनुभएको छ , भनिरहनुपरेको छैन’ शर्माले भनिन् ‘ पुस्तक नलाने सांसदले पनि नलगेको प्रमाण फारम भर्नुपर्ने भएकाले उहाँहरु आउँदै हुनुहुन्छ ।’ संसद सचिवालयका सामान्य प्रशासन महाशाखाका सहसचिव सुरजकुमार दुराले समयसीमा तोक्न अप्ठेरो भएकाले सकेसम्म छिटो बुझाइदिन पूर्व सांसदहरुलाई अनुरोध गरिएको बताए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments