Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा- तत्कालिन नेकपा माओवादीद्वारा २०५२ सालदेखि २०६२ सालसम्म शसस्त्र जनयुद्ध संचालन भयो देशमा । थुप्रै युवाहरु देशको आमूल परिवर्तनको सपना सजाएर जनयुद्धमा होमिए । कयौ शहीद भए कयौ वेपत्ता छन् भने थुप्रै घाइते तथा अपाङ्ग छन् । जनयुद्ध र जनआन्दोलन पछि देशमा लोकतान्त्रिक गणतन्त्र घोषणा भएको पनि १० वर्ष पूरा भयो । देशमा सविधान पनि जारी भैसकेको छ । जनयुद्धका सुप्रिम कमाण्डर प्रचण्ड दुई पटक यो देशको कार्यकारी प्रमुखको जिम्बेवारीमा पनि पुगिसकेका छन् । अब त झन कम्युनिष्टहरुको बहुमतको सरकार बन्ने पनि निश्चित छ । के अब चैं बेपत्ता योद्धाहरुको खोजि होला ?

१० बर्षे जनयुद्धका योद्धा, तत्कालिन नेकपा माओवादी पर्टिको झापा जिल्ला सदस्य तारा रिजाल हाल सम्म पनि बेपत्ता छन् । झापाको साविक महारानीझोडा–८ मा २०३४ सालमा जन्मिएका रिजाल २०५४ साल देखि माओवादी पर्टीमा आबद्ध थिए । पार्टीको पूर्वी कमाण्डको प्रशिक्षणमा सहभागिहुन जाने क्रममा भारतको सिलिगुढीबाट ०५९ साल पुष १३ गते पक्राउ परी सोही दिन भारतीय सुरक्षा निकायले नेपाल सुपुर्दगी गरेको र झापाको चाराली शैनिक ब्यारेकमा राखिएका तारा रिजाल लखन आजसम्म पनि बेपत्ता छन् ।

बेपत्ता योद्धा तारा रिजालकी आमाको आँसु मिश्रित आवाज ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
बेपत्ता योद्धा तारा रिजालकी आमा

चन्द्रकला रिजाल
गौरादह–, झापा
(बेपत्ता तारा रिजालकी आमा)

तारा मेरो काइँलो छोरो हो । मलाई साह्रै माया गथ्र्यो । कहिल्यै झुटो बोल्दैनथ्यो । कहिल्यै रिसाउँदैन थियो । जनता मा.वि. गौरादहमा पढ्थ्यो । पछि राजनीतिमा लागेको छ भन्थे । म त राजनीति बारे केही जान्दिन । उसलाई पनि नानी राजनीति नगर भने मानेन ।

आमा म देश र जनताको भलो गर्ने असल काम गर्छु, समाजको सेवा गर्दैछु भन्थ्यो । कहिलेकाहीँ साथीहरु लिएर आउथ्यो । उसका साथीहरु आमा भन्दै आउँछन् अहिले पनि तर उ नआएको १५ वर्ष भयो । उसकै साथीहरुले भनेको मेरो तारालाई २०५९ साल पुष १३ गते भारतीय प्रहरीले सिलिगुढीमा पक्रेर त्यही दिन नेपाल बुझाएका अरे तर खोई अहिलेसम्म आएको छैन । चाराली सेनाको व्यारेकबाट ऊ हालसम्म वेपत्ता छ । सेना पुलिसले त सुरक्षा दिन्छ भन्थे तर मेरो तारालाई कहाँ लगे ? किन कसैले पनि खोजि गर्दिदैन ?

बाटामा कोही ३०–३५ वर्षको मान्छे हिँडेको देख्दा मेरै छोरो पो हो की जस्तो लाग्छ । अहिले माओवादीका ठूला ठूला नेताहरुलाई भेट्दा मेरो तारा कहाँ छ ? छिटो बोलाइ दिनुहोस् भन्छु । उसका साथीहरु ठूला ठूला मन्त्री पनि भए अरे । तर मेरो बुढेसकालको साहारा मेरो छोरो ताराको अहिले सम्म पनि जिउदो छ वा छैन अत्तोपत्तो छैन् ।

म त डाँडा माथिकी जुन भैसके ताराले आमा भनेर बोलाएको सुन्नु छ । देशमा गणतन्त्र आयो भन्छन् , संविधान पनि आयो अरे तर मेरो तारा अझै घर आएन ।

तपाईको प्रतिक्रिया