गौरादह, २९ चैत । गौरादह नगरपालिका–७ ग्वालडुब्बा स्थित नानाक्चन बाबा मन्दिरमा श्री श्री १०८ अखण्ड हरि कृर्तन अष्टजाम सम्पन्न भएको छ । नानाक्चन बाबा अष्टजाम समारोह समितिको आयोजनामा बुधबार राति ११ बजेबाट शुरु भएको अष्टजाम ३६ घण्टा सञ्चालन भई शुक्रबार विधिवत रुपमा समापन भएको छ ।
अष्टजाम सञ्चालन समय अवधि भर “हर भोला, हर भोला, भोला भोला हर हर” “हर शिव, हर शिव, शिव शिव हर हर” मुल मन्त्र जपिएको थियो । त्यसका लागि नेपाल भारतका ५ टोली सहभागी भएको समितिका सदस्य भूपाल सिंह ताजपुरीयाले जानकारी गराए ।
मन्दिर परिषरमा अष्टजाम सञ्चालनका लागि आवश्यक पर्ने देवी देवताका मूर्तिहरु स्थानीय डिल्ली राजवंशीले दान गरेका थिए । सबै नेपालीहरुमा भाइचाराको सम्बन्ध कायम राख्दै सुख, शान्ति र समृद्धिको कामना गर्दै अष्टजाम आयोजना गरिएको स्थानीय श्रवण कुमार राजवंशीले बताए । अष्टजाम सञ्चालन गरिने मन्दिर परिषर क्षेत्रमा ग्वालडुब्बा युवा समूहले सरसफाई गरेको समूहका अध्यक्ष भोला चक्रवर्तीले बताए । मन्दिरका पुजारी तथा अष्टजाम समारोह समितिका अध्यक्ष धनप्रसाद पुजारीको सभापतित्वमा अष्टजाम सम्पन्न भएको थियो ।