Online Bichar
मंगलबार, जेठ १२, २०८३ | Tuesday, May 26, 2026

बागलुङ, २९ चैत ।  जिल्लाको पश्चिम क्षेत्रमा बसोबास गर्ने एक व्यक्तिले बनाएको आकर्षक खुकुरी पैसा तिरेरै हेर्ने र फोटो खिच्नेको घुइँचो लागेको छ।

बागलुङ र गुल्मीका विभिन्न स्थानमा लगाइने मेला महोत्सवमा खुकुरी विशेष आकर्षण बन्ने गरेको छ। बागलुङको प्रसिद्ध धार्मिकस्थल कालिका भगवति मन्दिर परिसरमा आयोजित परम्परागत चैत्राष्टमी मेलामा जिल्लाको ढोरपाटन नगरपालिकाको अधिकारचौर घर भएका मनबहादुर श्रीपालीले निर्माण गरेको खुकुरी धेरैको आकर्षण बनेको छ।

४२ किलोको खुकुरीको विक्री मुल्य १ लाख ११ हजार १११ छ भने अर्को २२ किलोको खुकुरीको मुल्य ९९ हजार ९९९ छ । खुकुरी हेरेर फोटो खिचाएको एक व्यक्तिबाट २० रुपैयाँ लिने गरेको श्रीपालीले बताए। उनलाई खुकुरी प्रदर्शनीमा राख्नका लागि घरेलु तथा साना उद्योग कार्यालयले निस्शुल्क स्टल उपलब्ध गराएको छ।

‘औषत हतियार भन्दा ठूलो र महँगो भएकाले धेरैको आकर्षण बनेको छ, आफ्नो सिप कला कौशल पनि देखाउन पाएको छु,’ उनले भने,‘गाउँबाट आफु सहित गह्रौ खुकुरी ल्याउदा लैजादा पनि खर्च हुन्छ, त्यो खर्च सहजै उठ्ने गरेको छ।’

श्रीपालीको जिल्ला सदरमुकामबाट ९१ किलोमिटर पश्चिममा रहेको बुर्तिबाङ बजारमा व्यवसायीक आरन छ। विगत सात वर्षदेखि बुर्तिवाङ बजारमा ‘बुर्तिवाङ आरन सेवा’ सञ्चालन गर्दै आएका श्रीपालीले ५० हजार भन्दा बढी लागतमा खुकुरी निर्माण गरिएको बताए। उक्त खुकुरी बनाउन दश दिन भन्दा बढी लागेको उनको भनाई छ।

३८ वर्षिय श्रीपाली १३ वर्षको उमेरदखि उक्त पेशामा हुन्। उनले मेला महोत्सवमा खुकुरीसँगै अन्य घरेलु हातहतियार हसिँया, कोदालो लगायत भाँडाकुडा पनि बिक्रीमा राखेका छन्।
आगन्तुकलाई लोभ्याउने गरी बनाएको खुकुरी किन्ने भन्दा हेर्ने मानिसहरु बढी हुन्छन्। सोख र पैसा भएकाले सजावाटका लागि ठूलो खुकुरी किन्ने गर्छन्। ‘ठूलो र महङ्गो खुकुरीको विशेष माग हुँदा मात्र बनाएर बेच्छौं’, श्रीपालीले भने, ‘मेलामा आउने दर्शकले अनौंठो मानेर उक्त खुकुरीबारे जिज्ञासा लिने गरेका छन्।’

श्रीपाली विगत एक दशकदेखि बुर्तिबाङ बजारमा व्यवसायिक आरन पेसा गर्दै आएका छन्। यहाँ उत्पादन हुने घरेलु औजार विक्री तथा प्रदर्शनको लागि श्रीपाली काठमाडाौं पोखरा लगायत अन्य सहरमा हुने मेला महोत्सवमा पुग्ने गरेको बताए। श्रीर्पालीले संचालन गरेको आरन व्यवसायमा ६ जना कामदारले रोजगार पाएका छन्। तलब, घरभाडा लगायतको खर्च कटाएर १ लाख रुपैया बचत हुने श्रीर्पालीको भनाई छ।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments