Online Bichar
सोमबार, बैशाख २९, २०८२ | Monday, May 12, 2025

विराटनगर, २८ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको कारले मोरङमा मोटरसाइकललाई ठक्‍कर दिँदा एक युवाको मृत्यु भएको छ।अर्का युवा भने गम्भीर घाइते भएका छन्।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत सुन्दरहरैंचा नगरपालिका(९ बुधबारेमा बुधबार राति पूर्व राजा ज्ञानेन्द्र शाह चढ्ने गरेको कारको ठक्करबाट मोरङमा एक जनाको मृत्यु भएको छ।

बुधबार राती शाहले चढ्ने गरेको बा ३ च ७९६२ नम्बरको कारले मोरङ सुन्दर हरैंचा —४ मा को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार इटहरी —८ का हेम चौधरीको मृत्यु भएको हो।

कारले ठक्कर दिएपछि घाइते मोटरसाइकल चालक प्रकाश चौधरी र हेम चौधरी गम्भीर घाइते भएका थिए। दुवैलाई उपचारका लागि विराटनगर स्थित नोवेल मेडिकल कलेजमा ल्याइएको थियो। उपचारका क्रममा हेम चौधरीको राती साढे ९ बजे मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता घनश्याम श्रेष्ठले जानकारी दिए।

मोटरसाइकल चालक प्रकाश चौधरीको भने विराटनगर अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । पूर्व राजा ज्ञानेन्द्र शाह पूर्वी नेपालको भ्रमणमा आउँदा सोही कार चढ्ने गरेका थिए।

तपाईको प्रतिक्रिया