Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, २६ चैत । अमेरिका, क्यानडा, पोर्चुगल लगायत युरोपेली देश पठाइदिन्छु भन्दै ठग्ने मानवतस्करका नाइके पर्शुराम गुरुङ थाइल्यान्डमा पक्राउ परेका छन्। गुरुङविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा २४ पीडितले उजुरी दिएका छन्। अमेरिकी एजेन्टसँग मिलेर मानवतस्करी गरिरहेको आरोपपछि गुरुङलाई पक्राउ गरेर अनुसन्धान गरे धेरै रहस्य खुल्ने पीडितहरूले बताएका छन्।

मोरङ, भोजपुर र काठमाडौंको गौरीघाटमा घर भएका गुरुङलाई बैंककमा ओभर स्टे गरेको आरोपमा थाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको सीआईबीले जनाएको छ। गुरुङबाट पीडित धेरै देखिएपछि सीआईबीले इन्टरपोल र दूतावासमार्फत समन्वय गरेर उनलाई नेपाल ल्याउने तयारी गरेको छ। बाग्लुङका सागर क्रिस र जेतुन क्रिस अहिले मानवतस्करीकै घटनामा पूर्पक्षमा जेलमा छन्। उनीहरूले विशेषगरि अमेरिका पठाउने भन्दै झुक्याएर मेक्सिको पुर्‍याएर नेपालीलाई अलपत्र छाड्दै आएका थिए। पीडितहरूले फर्किएपछि प्रहरी गुहारेका थिए।

गुरुङले भने क्यानडा पुर्‍याउने भन्दै नेपालीलाई सीधै थाइल्यान्ड बोलाउने र पैसा लिएर जहाजमा छाडी भाग्ने गरेको पीडितले बताएका छन्। न्यूनतम १५ देखि बढीमा २५ लाख रुपैयाँसम्म लिएर उनले ठगी गर्दै आएको सीआईबीले जनाएको छ। ‘थाइल्यान्डमा गुरुङले पीडितको राहदानीमा क्यानडाको नक्कली भिसा लगाइदिने गरेको पाइयो’, सीआईबीका डीएसपी राजकुमार सिलवाल भने, ‘विमानस्थलमा पुर्‍याएर जहाज चढाई उनी फरार हुने गरेको देखियो।’ उनका अनुसार गुरुङले थाइल्यान्ड बोलाएपछि पीडितकै पैसामा मोज गर्ने र एकरदुई दिन डान्सबारमा घुमाएर अलपत्र पारी छाड्ने गरेको पीडितले उजुरीमा खुलाएका छन्।

मानवतस्करका नाइके पर्शुराम गुरुङलाई इन्टरपोल र दूतावासमार्फत समन्वय गरेर नेपाल ल्याउने सीआईबीको तयारी।

क्रिसद्वयले अमेरिका लैजाने भन्दै भारत लैजाने, त्यहाँबाट थाइल्यान्ड, त्यहाँबाट भियतनाम, भियतनामबाट ब्राजिल, ब्राजिलबाट इक्वेडर, इक्वेडरबाट कोलम्बिया, कोलम्बियाबाट कोस्टारिका र कोस्टारिकाबाट मेक्सिको पुर्‍याएर अमेरिकाको सीमानासम्म लगी अलपत्र छाड्ने गरेको अनुसन्धानबाट खुलेको छ। उनीहरूले अमेरिका लैजानकै लागि प्रतिव्यक्ति ४० लाख रुपैयाँसम्म असुलेका थिए। पीडितलाई कोलम्बियाबाट मिङ्लिन सिटी र एपार्दोसम्म लैजाने र ठूलो नदी पार गराइ निकारागुवा पुगेपछि ८ घण्टा हिँडाएर होन्डुरस पार गराउँदै आएका थिए। पीडितले सीआईबीमा मेक्सिको जेलमा धेरै नेपाली रहेको बयान दिएका छन्। केही क्यालिफोर्नियाको जेलमा पनि छन्।

मेक्सिकोको तार नाघेर गएपछि अमेरिकन प्रहरीले समातेपछि १० दिनसम्म सीमाकै हिरासतमा राख्ने र एरिजोनामा ६ महिनासम्म जेलमा राखेर लुजियानाबाट न्युयोर्क पुर्‍याएर नेपाल डिपोर्ट हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। डीएसपी सिलवाल भन्छन्, ‘अमेरिका र क्यानडा जान खोज्ने धेरै नेपाली ठगिएका छन्। उजुरी हेर्दा त्यति धेरै पैसा किन तिर्छन् भन्ने लाग्छ।’अन्नपूर्णपोष्टबाट साभार

तपाईको प्रतिक्रिया