Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

निर्माण पूरा हुन २ अर्ब रुपैयाँभन्दा बढी रकम आवश्यक

झापा । मेची अञ्चलको तराई र पहाडलाई जोड्ने दमक–चिसापानी–रबी मार्ग (फाल्गुनन्द मार्ग) मा नयाँ ट्रयाकबाट गाडी सञ्चालन हुन थालेका छन् । बगरको बाटोबाट दैनिक गाडी कुदाउनु पर्ने जोखिम अन्त्य गर्दै आइतवारदेखि नयाँ ट्रयाकबाट औपचारिक रुपमा यातायात सञ्चालनमा ल्याइएको उपभोक्ता समितिले बताएको छ ।

झापा संग पूर्वी पहाडको प्रत्यक्ष सम्बन्ध जोड्ने तथा विकासको ठूलो सम्भावना बोकेको भनिएको यो बाटो बहुप्रतिक्षित बाटो हो । मेची अञ्चलको तराई र पहाडलाई जोड्ने सबैभन्दा छोटो दूरीको यो मार्ग ०४९ सालदेखि निर्माण सुरु भएको थियो । सडकको ट्रयाक खोलिएपछि पहाडी क्षेत्रका बासिन्दा उत्साहित देखिएका छन् । यो अढाई दशकपछि अथक प्रयास र करोडौ लगानीमा खोलिएको हो ।

दमकबाट अनुगमनमा गएको पत्रकारको टोलीसँग कुरा गर्दै निर्माण उपभोक्ता समितिका अध्यक्ष रेवतराज पुरीले भने– ‘लामो समयदेखिको प्रतिक्षित योजनाको पहिलो चरणको काम सकिएको छ,यो सफलता आम नागरिक, उपभोक्ता समिति र ठेकेदार देखि मिडियाकर्मी सवैको सहयोगबाटमात्र सम्भव भएको हो । आज हामी निकै हर्सित छांै । तर कामको पूर्णता बाँकी नै छ । सडकको ट्रयाक खुले पनि निर्माण पूरा हुन २ अर्ब रुपैयाँभन्दा बढी रकम आवश्यक छ ।’ उनले भने घर्ती दोभान र बाघमारामा पुल निर्माणकार्य भइरहेको छ, दमकदेखि रवी सम्म ४५ किलो मिटर बाटो भित्र २ वटा पुल आवश्यक छ, ९ वटा कलवर्ट बनाइसकेका छौं । आगामी वर्षदेखि ग्राभेल गर्ने काम शुरु गरिन्छ , बर्षा याममा पनि अव बाटो अवरोध हुन दिँदैनौं ।

सडक पूर्णरुपमा सञ्चालनमा आएमा पश्चिम दक्षिणी इलामका बासिन्दाको आय स्तर बढ्ने र दमकबासी ब्यवसायीहरुको ब्यवसायमा समेत परिर्वतन आउने झापा होटल ब्यवसायी संघ माइ पश्चिमका अध्यक्ष राजन दंगालले बताए ।
इलामको दक्षिणी भेगका कृषकले प्रत्यक्ष लाभ लिनसक्ने फूएतप्पा ५ इलामका गणेश रेग्मी बताउछन् । उनी भन्छन्– ‘बाटो नहुँदा यहाँको सागपात र ओलनले बजार पाएको छैन, बाटो नियमित चले इलामको ताजा साग झापाका ब्यवसायीले खान सक्छन् ।’

बगरको बाटोबाट दैनिक गाडी कुदाउनु परेको पीडा ब्यक्त गर्दै ९ वर्षदेखि गाडी कुदाइरहेका लारुम्वा निवासी चालक जोन लावती भन्छन्– ‘ धेरै वर्ष पानीभित्र गाडी कुदायौं, दुःख झेल्यौं, अव सरल हुने भएको छ, हामी खुशी र उत्साहित भएका छौं । ’ बाटो राम्रो नभएकाले नै पहाडी क्षेत्रका बासिन्दा दैनिक उपभोग्य समान र उपचार नपाएर हैरानी भोग्दै आएको उनले बताए ।

सडकको ट्रयाक खुलिसकेकाले अब सवारी साधनहरु दमकदेखि इलाम हुँदै पाँचथरको रबीसम्म पुग्ने निर्माण उपभोक्ता समितिका सदस्य कर्म पुलामी बताउँछन् । उनी भन्छन् युवा सक्रिय भएर लागिपर्ने हो भने विकास टाढा छैन ।’ सवैको साथ सहयोग रहेकाले यो सम्भव भएको हो ।
डिभिजन सडक कार्यालय दमकका इन्जिनियर विपिन ढुंगानाले सडकमा साना सवारी साधनहरू सडककै ट्रयाकबाट चल्न सक्ने अवस्थामा रहेको भएपनि धेरै स्थानमा मापदण्ड अनुसार काम सम्पन्न भइनसकेको बताए ।

स्थानीय स्तरबाट ०५१ सालमा निर्माण शुरु भएको यो सडक इलामको चुलाचुली, माङसेबुङ र दक्षिणी इलामका बासिन्दाको ‘लाईफ लाईन’को रुपमा रहेको निर्माण उपभोक्ता समितिका महासचिव हेमन्त राई बताउँछन् । दमकबाट पाँचथरको रबी पुग्न ४४ किलोमिटर छ, तर,दमकदेखि इलाम, राँके बजार हुँदै धाउनु पर्दा १ सय ७८ किलोमिटरको दूरीको यात्रा गर्नुपर्ने बाध्यता यो क्षेत्रका बासिन्दाले ब्यहोर्दै आएका छन्

तपाईको प्रतिक्रिया