Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, २५ चैत । नेपाली कांग्रेसले पार्टी हितविपरीत क्रियाकलापमा संलग्न र अनुशासन उल्लंघन गर्ने सदस्यको नाम चैतसम्म उपलब्ध गराउन सबै जिल्ला कार्यसमितिलाई पत्राचार गरेको छ।

पार्टीको केन्द्रीय अनुशासन समितिको आइतबार बसेको बैठकले गत स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र निजका प्रस्तावक तथा समर्थक भएका पार्टी सदस्यको नामावली सबै जिल्लाबाट सात दिनभित्र उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको हो।

समितिका संयोजक भीष्मराज आङ्दम्बेको संयोजकत्वमा बसेको बैठकले कांग्रेस परित्याग गरी अन्य राजनीतिक दलमा गएका व्यक्तिको नामावली पनि संकलनका लागि पत्राचार गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए।

पार्टी केन्द्रीय कार्यसमितिको यही चैत ४ गते बसेको बैठकले केन्द्रीय सदस्य आङ्दम्बेको संयोजकत्वमा केन्द्रीय सदस्य किशोरसिंह राठौर, देवेन्द्रराज कँडेल, उमाकान्त चौधरी र धनराज गुरुङ सदस्य रहेको अनुशासन समिति गठन गरेको थियो।

विसं २०७४ मा भएका स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारविरूद्ध बागी दिने, उम्मेदवारलाई हराउन भूमिका खेल्ने र अन्तर्घात गर्ने पार्टीका सदस्यलाई कारबाही गर्न कांग्रेसले यसअघि पनि अनुशासन समिति बनाएको थियो।

यसअघिको अनुशासन समितिका संयोजक रमेश रिजालले पदबाट राजीनामा दिएपछि सो समिति विघटन भएको थियो।

तत्कालीन अनुशासन समितिमा उमाकान्त चौधरी, कमला पन्त, सुरेन्द्र पाण्डे र हृदयराम थानी सदस्य थिए।

पार्टी केन्द्रीय कार्यालयमा यसअघि ५० जिल्लाबाट करिब ३५० नेता कार्यकर्ताविरूद्ध पार्टी हितविपरीत कार्य गरेको भनी कारबाहीका लागि उजुरी परिसकेको छ। त्यसमध्ये छानबिन गरी करिब २०० लाई स्पष्टीकरण सोध्ने निर्णय भएको थियो। कांग्रेस विधानअनुसार कसुरका आधारमा पार्टी हितविपरीतका क्रियाकलापमा संलग्न सदस्यलाई एक वर्षदेखि पाँच वर्षसम्म पार्टीबाट निलम्बनलगायत कारबाही गर्न सक्ने व्यवस्था छ।रासस

 

तपाईको प्रतिक्रिया