झापा । नाकामा आफैँ परीक्षणको प्रबन्ध पनि नगर्ने, नेपालको प्रयोगशालाको रिपोर्टमा भरोसा पनि नगर्ने भारतीय कार्यशैलीले नेपाली कृषिवस्तुको अन्तर्रा्ष्ट्रिय व्यापार सधैँ जोखिमपूर्ण बन्दै आएको छ । भारतले नाकामा कृषिजन्य खाद्यवस्तु परीक्षणको प्रबन्धमा उदासिनता देखाउँदा नेपालको निर्यात व्यापार सधैँ भयग्रस्त रहँदै आएको छ ।

नेपालको पूर्वी नाकासँग जोडिएको भारतको पानीट्यांकी नाका र त्यसको नजिकै कतै पनि खाद्यवस्तु परीक्षण हुँदैन । परीक्षणका लागि कलकत्ताकै ल्याब पुर्याउनुपर्ने भारतीय ‘बाध्यता’ नेपाली पक्षका लागि जोखिम र झञ्झटको विषय बनेको हो । ताजा सागसब्जी, अदुवा, फलफूल परीक्षणका क्रममा भारतीय पक्षले कम्तीमा एक सातादेखि १५ दिनसम्म समय लगाइदिने समस्या यथावत रहँदा कृषि वस्तुको कारोबारमा जोखिम र झञ्झट दुवै उच्च भएको हो । यसले तत्कालै बजार पुर्याउनुपर्ने खालका कृषिवस्तु बजार नपुग्दै सड्ने समस्या ल्याएको छ । परीक्षणका लागि लाग्ने लामो समयकै कारण हरेक वर्ष हजारौँ टन कृषिवस्तु बिग्रिने गरेको नेपाली व्यवसायीको भनाइ छ ।
‘नेपाली पक्षले लामो समयदेखि नाकामै ल्याव टेष्ट गर्ने व्यवस्था गरिदिन आग्रह गर्दै आएको छ’, निर्यात व्यापारका जानकारसमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य केशवराज पाण्डेले भने, ‘तर अहिलेसम्म त्यस्तो व्यवस्था भएको छैन । अहिले पनि परीक्षणका लागि कलकत्ता नै पुर्याउनुपर्छ । यसले जोखिम बढाएको छ ।’ उनका अनुसार निजी क्षेत्र र सरकारी तहबाट हुँदै आएको यस्तो आग्रह धेरै अघिदेखि जारी छ । यद्यपि हुन्छ भन्न नछाड्ने र नाकामा प्रयोगशाला पनि नराख्ने भारतीय शैलीले नेपाली पक्ष आजित बनेको छ ।

निर्यात व्यापारमा संलग्न व्यवसायीहरुका अनुसार ल्याव परीक्षणका लागि नेपालका कृषिवस्तु कलकत्ता लैजाँदा रिपोर्ट ज्यादै छिटो आउँदा पनि कम्तीमा एक साता लाग्ने गरेको छ । ‘धेरैजसो १२ देखि १५ दिन लाग्ने गरेको छ’, मेची उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक गोपाल बस्नेतले भने ‘ज्यादै छिटो आउँदा एक सातामा आउँछ । त्यो समयसम्ममा धेरै कृषिवस्तु बिग्रिने, सडिने जोखिम हुन्छ । धेरैपटक यस्तो भएको पनि छ ।’

उनका अनुसार सागसब्जी, अदुवा र सुन्तला जस्ता फलफूलका ट्रक हप्ता दिनभन्दा बढी समय नाकामा रोकिँदा जुनसुकै बेला बिग्रने खतरा हुन्छ । ‘कारणवशः बिग्रिएन भने पनि ताजा अवस्थाको जस्तो गुणस्तरमा हुँदैन’, बस्नेतले थपे, ‘प्रष्ट छ, गुणस्तर नभएको वस्तुको मूल्य पनि राम्रो हुँदैन । त्यसैले कि भारतीय पक्षले आफ्नो नाकामै परीक्षणको व्यवस्था गर्नुपर्यो कि नेपालको रिपोर्टलाई मान्यता दिनुपर्यो । अन्यथा हाम्रो मुख्य निर्यातजन्य वस्तुकै अन्तर्रा्ष्ट्रिय व्यापार झन्झटिलो र खतरायुक्त रहनेछ ।’

नेपालका खाद्य प्रयोगशालामा खानयोग्य भनेर प्रमाणित भएका कृषिवस्तु काँकरभिट्टा नाका हुँदै भारतको पानीट्यांकी नाका पुग्छन् । त्यहाँ पुग्दा भारतीय भन्सार प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । त्यसक्रममा भारतीय पक्षले अधिकांश खाद्य वस्तुको परीक्षण गर्ने गरेको छ । खानयोग्य हो कि होइन परीक्षण गर्ने विषयलाई नेपाली पक्षले स्वाभाविक मान्दै आएको छ । ‘अर्को देशबाट आएको खाद्यवस्तु जाँच गर्ने कुरामा हाम्रो कुनै विमति छैन’, मेची संघका निर्देशक बस्नेतको भनाइ छ, ‘तर त्यसका लागि लामो समय नलगाइदिए हुने भन्ने मात्रै आग्रह हो ।’

पूर्वको काँकरभिट्टा नाका भारतसँगै भूटान र बंगलादेशसँग नेपालको व्यापार कारोबार भइरहेको त्रिदेशीय ट्रान्जिट पनि हो । तर, भारतसँगको व्यापार हिस्सा ८० प्रतिशतभन्दा बढी छ । त्यसमा पनि नेपालबाट निर्यात हुने सामग्रीमा बढी भाग कृषिवस्तुकै छ । त्यसैमा रहेको झन्झट अन्त्य गरिदिन नेपाली पक्षले गर्दै आएको माग भारतीय पक्षले सधैँ पर सार्दै आएको छ । यसमा नेपालको सरकारी तहबाट भने जति चासो नदेखाइएको गुनासो निर्यातकर्ताहरुको छ ।

गएको शुक्रबार मात्रै पूर्वी सीमाका धेरै वटा नाकाको अवलोकनका लागि आएका नेपालका लागि भारतीय राजदुत मञ्जिभसिंह पुरीसामु काँकरभिट्टा तथा भद्रपुर क्षेत्रका नेपाली व्यवसायीले प्रयोगशाला स्थापनाको विषय राखे । दुतावासका वरिष्ठ अधिकारीहरुसहित नेपाल र भारतीय नाका घुमेर साँझ अबेर काँकरभिट्टा आइपुगेका राजदुत पुरीले मेची भन्सारमा नेपाली पक्षसँग केहीबेर अन्तरक्रिया गरे ।

त्यसक्रममा मेचीनगरका नगर प्रमुख विमल आचार्यले दुई देशबीचको कारोबारका लागि भारतीय नाकामा प्रयोगशाला र व्यवस्थित पार्किङस्थलको पनि आवश्यकता भएको औँल्याइदिएका थिए । जवाफमा राजदुत पुरीले ‘तत्कालै व्यवस्था गर्ने’ वचन पनि दिए । ‘व्यापार कारोबारमा बृद्धि गर्न र कनेक्टिभीटी बढाउन आवश्यक पर्ने सबै पूर्वाधारहरु निर्माण गरिनेछ’, राजदुत पुरीले भने, ‘यसका लागि थोरै समय लाग्नसक्छ । तर, काम हुनेछ ।’ तर, उनको जस्तो आश्वासन दशकौँदेखि सुन्दै आएको नेपाली पक्ष विश्वस्त भने छैन । खासगरी व्यापारीहरुले यसलाई कहिल्यै पूरा नहुने तर हुन्छ भन्न पनि नछाड्ने भारतीय शैलीको निरन्तरता मात्रै मानेका छन् ।

नाकामा प्रयोगशाला राख्न आनाकानी गर्ने भारतीय पक्षको उदासिनतालाई नेपाली व्यापारीहरु उसको नियतसँग जोडेर हेर्छन् । ‘जहिले पनि केही न केही निहुँ बनाएर नेपाली कृषिवस्तुको निर्यात प्रभावित पारिरहने भारतीय शैली देखिँदै आएको विषय हो’, व्यापारी जयनारायण साहको भनाइ छ, ‘त्यसैले आफ्नो हात माथि पारिरहन पनि भारतले नाकामा प्रयोगशाला राख्दैन । उसले नसकेर होइन, नचाहेर नराखेको हो ।’

निर्यात व्यापारका क्रममा भारतीय भन्सार अधिकारीहरुसँग राम्रो उठबस भएका साहको भनाइसँग अधिकांश नेपाली व्यापारीको सहमति छ । ‘हामीले यो माग ५५ सालयता निरन्तर राखिरहेका छौं’, उनले भने, ‘तर भारतले राखेन ।’ पूर्व राजदुतहरु शिवशंकर मुखर्जी, राकेश सुद, जयन्तप्रसाद लगायत धेरैले प्रयोगशाला राख्ने वचन दिए पनि त्यसलाई व्यवहारमा अनुवाद भने नगरेको व्यापारीको भनाइ छ ।

त्यसो त भारतीय नाकामा नेपाली पक्षले सहँदै आएको झन्झटमा प्रयोगशाला अभावको अफ्ठयारो मात्रै छैन । अन्तर्रा्ष्ट्रिय नाका पानीट्यांकी क्षेत्र यति साँघुरो छ कि सधैँ मालवाहक साधनको घुइँचो लाग्ने ठाउँमा ती साधन पार्किङ गर्ने ठाउँ समेत छैन । त्यसैले सधैँको जामले छोटो दुरी पार गर्न पनि मालवाहक साधनलाई घण्टौँ लाग्ने गरेको छ । त्यस्तै, निकासी क्वारेन्टाइन कर पनि उच्च लाग्दै आएको छ । करको दर घटाउन नेपाली पक्षले वर्षौंदेखि माग गर्दै आएको छ । तर, भारतीय पक्षले यसलाई पनि बेवास्ता गर्दै आएको नेपाली व्यापारीहरुको गुनासो छ ।

तपाईको प्रतिक्रिया

Comments