Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, २३ चैत्र । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो बस्दै छ ।

पार्टी कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समिति र संसदीय बोर्ड गठन, केन्द्रीय विभागका संयोजक तोक्नेलगायत समसामयिक विषयमा छलफल हुने पार्टीका प्रवक्ता विश्वप्रकश शर्माले जानकारी दिए ।

पार्टीको नयाँ विधानअनुसार २८ केन्द्रीय विभाग रहेका छन् । १३ औं महाधिवेशन सम्पन्न भएको तीन वर्ष पुगिसक्दा पनि कांग्रेसका केन्द्रीय विभाग गठन हुन सकेका छैनन् ।

केन्द्रीय सभापतिको अध्यक्षतामा पदाधिकारी स्वतः पदेन सदस्य हुने र केन्द्रीय सदस्यबाट ३१ जना चयन हुने कार्यसम्पादन समितिले केन्द्रीय समितिको एउटा बैठक र अर्को बैठकको अन्तरमा केन्द्रीय कार्यसमितिले गर्नुपर्ने काम गर्छ ।

कांग्रेसमा अहिले सभापति, दुई उपसभापति, दुई महामन्त्री, एक सहमहामन्त्री, एक कोषाध्यक्ष र प्रवक्ता पदाधिकारी छन् । कांग्रेसले यसअघि पनि कार्यसम्पादन समिति गठन गरेको थियो ।

तर, पार्टीभित्रै विधानविपरित धेरै संख्या रहेको भनी आलोचना भएपछि विघटन भएको थियो ।

यसैगरी बैठकले पार्टी विधानअन्र्तगतको नियमावली बनाउन ढिलाइ हुने देखिएपछि पार्टीको क्रियाशील सदस्यता वितरणका लागि आवेदन फारमको ढाँचा पनि स्वीकृत गर्ने, विभिन्न भ्रातृ संस्थाको विधानसमेत पारित गर्ने तयारी गरेको छ ।

चैत ५ गतेको केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा नियमावली संशोधन मस्यौदा समिति गठन गरेको थियो ।

समितिमा मीन विश्वकर्मा, जीवन परियार, ईश्वरी न्यौपाने र प्रदीप पौडेल सदस्य छन् ।

तपाईको प्रतिक्रिया