चितवन, २२ चैत्र । भरतपुरमा आमा, छोरा र छोरीले पासो लगाएर आत्महत्या गरेका छन् । भरतपुर महानगरपालिका १८ स्थित शशिनगरमा एउटै परिवारका तीन जनाले आत्महत्या गरेका हुन् ।जस्तापाता अड्याएको फलाम डण्डीमा ३५ वर्षकी आमा माया आलेमगर, १५ वर्षकी छोरी विनिता आले र १३ वर्षका छोरा विवेश आलेले पासो लगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
उनीहरुले राति करिब १ बजेको समयमा आत्महत्या गरेको प्रहरीले अनुमान गरेको छ।
मिलन चोकमा चिया पसल गर्ने मायाले पसल नखोलेपछि दुध विक्रि गर्नेले सोधखोज गरेर स्थानीय र प्रहरीलाई खबर गरेका थिए । मृतक मायाका श्रीमान नरबहादुर आले मगर नेपाली सेनामा कार्यरत छन्। उनीहरु करिब आठ वर्षअघि तनँहुको घुमाउनेबाट बसाई सरी चितवन आएका थिए।
मृतकको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ। आत्महत्याको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






